प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणका लागि प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई विदाई गर्न उपप्रधानमन्त्री प्रकाशमान सिंह, लगायतका मन्त्रीहरु उच्च पदस्थ सरकारी अधिकारीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा उपस्थित थिए ।
प्रधानमन्त्री स्पेनको राजधानी म्याड्रिडमा यही असार १५ गते बिहान पुग्ने तालिका छ । भ्रमण दलमा २१ सदस्य छन् । स्पेनको सेभिया शहरमा आयोजना गरिने अन्तरराष्ट्रिय सम्मेलन एक दशकमा एकपटक आयोजना गरिन्छ । संयुक्त राष्ट्रसङ्घको महासभामा जस्तै यस सम्मेलनमा सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको सहभागिता हुँदै आएको छ ।
प्रधानमन्त्री ओलीले भ्रमणको दोस्रो दिन, यही असार १५ गते दिउँसो करिब ४ बजे स्पेनको सेभियामा नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापनसत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उक्त दिन साँझ ५ बजे प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पोद्रो साञ्चेजबीच भेटवार्ता हुनेछ । असार १५ नै प्रधानमन्त्री ओली स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्रिभोजमा सहभागी हुनेछ । भ्रमणको तेस्रो दिन प्रधानमन्त्री ओली सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुनेछ ।