दूध किसानको बक्यौता भुक्तानी गर्न असारसम्मको भाका

काठमाडौं । सरकारले देशभरका दूध उत्पादक कृषकको करिब तीन अर्ब रुपैयाँ बक्यौता रकम यही असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले डेरी उद्योगको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनसँग दूध किसानको बक्यौता उपलब्ध गराउने विषयमा छलफल गरी अविलम्ब रकम फर्स्यौट गर्न निर्देशन दिएको हो ।
दैनिक गुणस्तरीय दूध सेवनका लागि जनचेतना जगाउने र पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न सबै प्रदेशमा विभिन्न कार्यक्रम सञ्चालन गरेको डेरी एसोसिएसनलाई सरकारले विभिन्न सहुलियत तथा प्रविधिक, रचनात्मक सहयोग उपलब्ध गराउँदै आएको छ ।
दुग्ध विकास संस्थानले गत पुस मसान्तसम्मको किसानको बक्यौताबापत रहेको करिब ९० करोड रुपैयाँ उपलब्ध गराइसकेको छ भने बाँकी रकम भुक्तानीको प्रक्रिया सुरु गरेको सूचना अधिकारी जोशीले जानकारी दिए ।
मन्त्रालयले पशु तथा कृषि बीमा, बीउबिजन, मल, कृषि उपकरणमा किसानलाई अनुदानमा सहयोग गर्दै आएको जनाएको छ । विभिन्न किसान सङ्घ संस्थाले समेत दुध किसानको रकम समयमै उपलब्ध गराउन माग गर्दै आएका थिए ।
नेपाल किसान महासङ्घका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले किसानले उत्पादन गरेका दूधबाट विभिन्न दूधजन्य परिकार बनाएर नाफा कमाउने डेरी उद्योगले किसानलाई तिर्नुपर्ने रकम असुली गर्न सरकारले कडाइ गर्नुपर्ने बताए ।