बयानार्थ माधव कुमार नेपाल विशेष अदालतमा उपस्थित

काठमाडौं ।  नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन्। पतञ्जली जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर भएपछि अध्यक्ष नेपाल आज पहिलो पटक अदालत उपस्थित भएका हुन्। गोविन्द बन्दीलगायत कानून व्यवसायीलाई साथमा लिएर नेपाल बिहान ११ बजे अदालत पुगेका हुन् । वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले नेपालको पक्षमा बहस गर्ने तयारी गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ। २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा सञ्चालन गर्न काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो।

तर, पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी परेपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो। अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएसँगै एकीकृत समाजवादीका सांसद नेपालको पद निलम्बनमा परेको छ। नेपाल प्रधानमन्त्री हुँदा हदबन्दी छुटमा जग्गा किनेको र छुट पाएपछि दुई महिनालगत्तै हाउजिङ कम्पनीलाई बेचेपछि अख्तियारले अनुसन्धान गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर