बागलुङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, मृतक पाँचैजना एउटै गाउँका
काठमाडौं । बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीबाट आज बिहान बागलुङ बजार आउँदै गरेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ग २ च ९२४७ नम्बरको जिप जैमिनी –७ जैदीको व्यार्थलानजिक हर्देवा भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब सातसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए । जिपमा चालकसहित ६ जना सवार थिए । तीमध्ये एक जनाको जीवितै उद्धार गरिएको प्रहरी निरीक्षक थापाले बताए । घाइतेलाई उद्धार गरी धौलागिरि अस्पतालमा ल्याइएको छ ।
जिप दुर्घटनामा परेर मृत्यु हुनेहरु एउटै गाउँका छन् । दुर्घटनाका मृतक ५ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाका अनुसार मृत्यु हुनेमा जिप चालक बागलुङ जैमिनी –८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष छन् ।
मृतक सबैजना एउटै गाउँका भएको घटनास्थलमा हुनुभएका जैमिनी नगरपालिका –१ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए । उनले भने, ‘‘एउटै गाउँका दुर्घटनामा परेर मृत्यु भएको खबरले गाउँवासी शोकमा डुबेका छन् । घटनास्थलमा सडक पनि सहज छ । कसरी दुर्घटना हुन गयो अचम्म लागेको छ ।’’
