सुशासन र आर्थिक सुधारमा सहकार्य गर्न कांग्रेस तयार : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन, विधिको शासन र आर्थिक सुधारलाई प्रभावकारी बनाउन सरकारसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ । उहाँले सरकारका कामकारबाही कानुनसम्मत, पारदर्शी र जवाफदेही बनाउँदै नागरिकमा विश्वास र भरोसा बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार विशेष सम्बोधन गर्दै सभापति थापाले लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन सरकारका सबै निकायले कानुनी प्रक्रिया र संस्थागत मर्यादाभित्र रहेर काम गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री, मन्त्रीदेखि सुरक्षा निकायसम्म सबैले कानुनको पालना गर्दा मात्रै विधिको शासन र सुशासनको प्रत्याभूति हुने उहाँको भनाइ थियो ।

“लोकतन्त्रमा नागरिकले मात्र होइन, सरकारले पनि कानुन मान्नुपर्छ । प्रधानमन्त्री, मन्त्री र प्रहरी सबै कानुनको दायरामा हुन्छन्,” उहाँले भन्नुभयो, “कानुनको शासन र कानुनलाई हतियार बनाएर शासन गर्ने प्रवृत्तिबीच ठूलो फरक छ ।”

सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि अघि बढाएका प्रयासलाई प्रभावकारी बनाउन स्पष्ट कानुनी प्रक्रिया, संस्थागत समन्वय र निष्पक्ष कार्यान्वयन आवश्यक रहेको उहाँले बताउनुभयो । कर्मचारीतन्त्र, सुरक्षा निकाय, न्यायपालिका र व्यावसायिक क्षेत्रले निर्भीक तथा सहज रूपमा काम गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उहाँको सुझाव थियो ।

कर्मचारीमाथि हुने कारबाही तथा अनुसन्धान कानुनले तोकेका निकाय र प्रक्रियामार्फत अघि बढाउनुपर्ने उल्लेख गर्दै उहाँले राज्यका सबै संयन्त्रबीच समन्वय र जिम्मेवारीको स्पष्टता आवश्यक रहेको बताउनुभयो ।

सञ्चारमाध्यमको स्वतन्त्रता र व्यावसायिक वातावरण कायम राख्नुपर्नेमा जोड दिँदै सभापति थापाले सञ्चारगृहसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन गरी तथ्य सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीले जारी गरेको वक्तव्यसँगै व्यवहारमा पनि आवश्यक सुधार र परिणाम देखिनुपर्ने उहाँको भनाइ थियो ।

“हामीलाई वक्तव्य होइन, परिणाम चाहिएको छ,” उहाँले भन्नुभयो, “संसदीय दलको बैठकबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने र सरकारले निष्पक्ष छानबिनमार्फत आवश्यक कदम चाल्नुपर्छ ।”

बिचौलियासँग जोडिएका प्रकरणमा प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान गरी संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने उहाँले बताउनुभयो । अनुसन्धानका क्रममा सूचनाको पारदर्शिता र गोपनीयता कायम राख्दै कुनै पनि व्यक्तिको प्रतिष्ठामा अनावश्यक असर नपर्ने गरी प्रक्रिया अघि बढाउनुपर्ने उहाँको सुझाव थियो ।

सरकारले गठन गरेका विभिन्न छानबिन समितिका प्रतिवेदन सार्वजनिक गर्नुपर्ने धारणा राख्दै उहाँले गृहमन्त्रीको सम्पत्ति, भदौ २३ र २४ गतेका घटना तथा सुनसरीको कप्तानगञ्ज प्रकरणमा गठित समितिका प्रतिवेदन सार्वजनिक भए नागरिकमा विश्वास बढ्ने बताउनुभयो ।

न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता लोकतन्त्रको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै उहाँले न्याय सम्पादनमा कुनै पनि प्रकारको दबाब नहुने वातावरण सुनिश्चित गर्नुपर्ने बताउनुभयो । न्यायपालिकाप्रतिको जनविश्वास कायम राख्न राजनीतिक दलबीच संवाद र आवश्यक संस्थागत सुधारमा सहकार्य हुनुपर्ने उहाँको धारणा थियो ।

सभापति थापाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार, निजी क्षेत्र र राजनीतिक दलबीच विश्वासको वातावरण आवश्यक रहेको बताउनुभयो । बैंकमा पर्याप्त तरलता रहे पनि कर्जा विस्तार र लगानी अपेक्षाअनुसार बढ्न नसकेको, व्यवसायीले ऋणको किस्ता भुक्तानीमा कठिनाइ भोगिरहेको तथा विकास खर्च कमजोर रहेको उल्लेख गर्दै उहाँले आर्थिक गतिविधि बढाउने नीतिगत वातावरण बनाउनुपर्ने बताउनुभयो ।

“अहिले देशलाई डर होइन, विश्वास चाहिएको छ,” उहाँले भन्नुभयो, “कर्मचारी, व्यवसायी र लगानीकर्ताले सरकारको नीति कस्तो हुन्छ भन्ने पूर्वानुमान गर्न सक्ने वातावरण हुनुपर्छ ।”

सरकारले आर्थिक सुधार, सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरे प्रतिपक्षका रूपमा कांग्रेसले रचनात्मक सहयोग गर्ने उहाँले स्पष्ट पार्नुभयो । आर्थिक सुधारसम्बन्धी विधेयक पारित गर्न तथा संसद्लाई प्रभावकारी बनाउन आफ्नो पार्टी तयार रहेको उहाँको भनाइ थियो ।

बलियो सरकारको आधार प्रभावकारी कानुन, उत्तरदायी संस्था, पारदर्शी कार्यशैली र नागरिकको विश्वास भएको उल्लेख गर्दै उहाँले सुशासन तथा विकासका साझा लक्ष्य प्राप्त गर्न सरकार र प्रतिपक्षबीच सकारात्मक सहकार्य आवश्यक रहेको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर