केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन पूरा

काठमाडौं ।  केरुङ–काठमाडौं  रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन (फिजिविलिटी स्टडी रिपोर्ट) पूरा भएको छ । नेपाल रेलवे बोर्डका प्रशासक हरिकुमार पोखरेलले नेपाल र चीनबिचको मित्रताको ‘प्रतीक’ का रूपमा लिइएको सो रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको जानकारी दिनुभयो ।

सम्भाव्यता अध्ययन प्रतिवेदन तयार हुनु सो परियोजनाका लागि ठुलो उपलब्धि भएको उहाँले बताउनुभयो । उहाँका अनुसार चिनियाँ पक्षले अनुदान सहयोगमा सो अध्ययन प्रतिवेदन तयार गरेको हो । ४२ महिना लगाएर तयार गरिएको सो प्रतिवेदनमा नेपाली पक्षको समेत सुझाव समावेश गरिएको छ ।

उक्त परियोजनाको सम्बन्धमा छलफल गर्न तिहारअघि नै नेपाली र चिनियाँ पक्षको संयुक्त बैठक काठमाडौंमा बस्ने बताउँदै प्रशासक पोखरेलले बैठकमा चिनियाँ पक्षले सो अध्ययन प्रतिवेदन प्रस्तुत गर्ने, प्रतिवेदनमाथि छलफल हुने र चिनियाँ पक्षले सो प्रतिवेदन नेपाललाई हस्तान्तरण गर्ने जानकारी दिनुभयो । त्यसै गरी बैठकमा रेलमार्गको सम्भावित लागत, प्राविधिक पक्ष तथा निर्माणको ढाँचाबारे समेत छलफल गरिने छ ।

आगामी द्विपक्षीय बैठकमा दुवै देशका रेलवे सञ्जाल हेर्ने निकायका प्रतिनिधिबिच औपचारिक रूपमा यो अध्ययन प्रतिवेदन हस्तान्तरण हुनुका साथै नेपाली पक्षले उक्त परियोजनाबारे आफ्नो अन्तिम दृष्टिकोण र व्यावसायिक रणनीतिसमेत सार्वजनिक गर्ने छ ।

सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भइसकेकाले अबको चरणमा सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने प्रक्रिया अगाडि बढाउने बताउँदै रेलवे प्रशासक पोखरेलले अब तयार गरिने ‘डिपिआर’ मा भदौ १० गते गएको भोटेकोशी बाढीले उत्पन्न गराएका प्राविधिक प्रश्न, सुरक्षाका उपाय र जोखिम न्यूनीकरणका रणनीतिलाई सम्बोधन गरिने जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर