पर्सि शुक्रबारसम्म वर्षा हुने, शनिबारदेखि मौसममा सुधार आउने

काठमाडौं ।  नेपालमा शुक्रबारसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार शनिबारदेखि भने मौसममा क्रमिक सुधार आउनेछ।

धान भित्र्याउने समय चलिरहेकाले कृषि कार्य गर्दा मौसमको पछिल्लो सूचना लिएर मात्र काम गर्न विभागले किसानलाई आग्रह गरेको छ। मौसमविद् रोजन लामिछानेका अनुसार अहिले चितवन, काठमाडौं, नवलपुर, तनहुँ र गोर्खालगायतका क्षेत्रमा वर्षा भइरहेको छ।

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका सुर्खेत, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा र कैलाली आसपासमा पनि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। चितवनको गोविन्दबस्ती र धनगढी विमानस्थल आसपासमा भने अन्य क्षेत्रको तुलनामा बढी वर्षा मापन गरिएको छ।

पछिल्लो २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ। गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षासमेत भएको विभागले जनाएको छ।

बुधबार पहाडी तथा हिमाली भूभागमा वर्षाको मात्रा बढी रहने अनुमान गरिएको छ। मधेस र कोशी प्रदेशसहित तराईका केही क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभाग र कोशीका पहाडी क्षेत्रमा वर्षा हुने विभागको पूर्वानुमान छ। तीमध्ये केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

बिहीबार भने बुधबारको तुलनामा वर्षा केही कम हुने विभागको अनुमान छ। पूर्वी पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा भए पनि पश्चिमी तथा तराईका क्षेत्रमा वर्षाको मात्रा घट्नेछ। शुक्रबार पूर्वी क्षेत्र र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहे पनि अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ।

विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहेँलो चेतावनी जारी गरेको छ। कोशी र मधेस प्रदेशमा भने वर्षाको सामान्य प्रभाव मात्र पर्ने अनुमान गरिएको छ। मौसमविद् लामिछानेले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेकाले धान काट्ने तथा भित्र्याउने कार्यमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। उनका अनुसार शनिबारदेखि मौसममा क्रमिक सुधार आउनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर