हिमपातले टेन्ट पुरिँदा आरोहीहरू समस्यामा
काठमाडौं । हिमपातका कारण गोरखास्थित मनासलु हिमालको आधार शिविरमा आरोहीले प्रयोग गर्दै आएका टेन्ट तथा अन्य सामग्री हिउँले पुरिएका छन् । केही दिनयता निरन्तर हिमपात भएपछि आधार शिविरको जनजीवन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।
हिमपातका कारण आधार शिविरमा राखिएका आरोहीका टेन्ट, खाद्यान्न तथा अन्य आवश्यक सामग्री हिउँले पुरिएपछि निकाल्नका लागि शेर्पा पथप्रदर्शक सहितको टोलीले प्रयास गरेको थियो । अत्यधिक मात्रामा परेको हिमपातका कारण हाल सम्म निकाल्न नसकिएको आरोहण गाइड पिताम्बर शेर्पाको भनाई छ ।
बाक्लो हिमपातका कारण टेन्टभित्र र बाहिर आवतजावत गर्न समेत कठिन भएको छ । मनास्लु हिमाल चढ्न उच्च हिमपातका कारण हिमाल आरोहण गर्ने इच्छा पूरा नभएपछि आधार शिविरमा रहनुभएका आरोही तथा सहयोगी टोलीले हिउँ हटाएर टेन्ट र सामग्री सुरक्षित गर्ने प्रयास गरिरहनुभएको छ ।
मनास्लु आरोहणका लागि पुग्नुभएका आरोही तथा उहाँका सहयोगीले केही दिनदेखि प्रतिकूल मौसमको सामना गरिरहनु भएको छ । लगातारको हिमपातले पदमार्गसमेत प्रभावित भएपछि आधारशिविर देखि माथिल्लो क्षेत्रतर्फको आवतजावतमा कठिनाइ भएको छ ।
मनासलु क्षेत्रको मौसममा आएको परिवर्तनसँगै हिमपातको मात्र बढेपछि आरोहण तथा पदयात्राको लागि पुग्नुभएकालाई थप सतर्कता अपनाउनुर्पे भएको छ । हिमपातका कारण बाटो पहिचान गर्न कठिनाइ हुने भएकाले आरोही तथा सहयोगी टोलीले मौसमअनुकूल नभएसम्म जोखिम मोलेर माथिल्लो क्षेत्रमा जानबाट जोगिनुपर्ने अवस्था छ ।
मनास्लु क्षेत्रमा यो समयमा आरोहण तथा पदयात्राको लागि विदेशी पर्यटक र नेपाली सहयोगी टोलीको चहलपहल हुने गर्दछ । तर लगातारको हिमपातले आधार शिविरसहित माथिल्लो क्षेत्रमा चिसो र जोखिम बढाएको छ ।
मनासलुको पहिलो आधार शिविरमा मौसममा पूर्णरूपमा सुधार नआएसम्म हिमपातबाट पुरिएका टेन्ट र सामग्री व्यवस्थापन र आरोहीको सुरक्षित आवतजावतलाई प्राथामिकता दिनुपर्ने अवस्था देखिएको छ । मनास्लु क्षेत्रमा भइरहेको निरन्तर हिमपातले हिमाली पर्यटन तथा मनासलु हिमाल चढ्ने चाहना भने यो वर्षको सिजनमा पूरा हुन नसकेको हो ।
