चितवनमा रोनाल्डो हात्तीको दुःखद अन्त्य

काठमाडौं ।  चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको जङ्गलमा साढे दुई दशकदेखि देखिँदै आएको रोनाल्डो हात्ती सदाका लागि बिलाएको छ । हात्ती प्रजनन केन्द्र खोरसोर सौराहाका लागि ‘ज्वाइँराजा’ भनेर चिनिने ४५/४६ वर्षको रोनाल्डो शनिबार बिहान बरन्डाभार वनक्षेत्रको कुमाल तालनजिकै मरेको अवस्थामा भेटिएको हो ।

हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरन चौधरीले रोनाल्डोको करेन्ट लागेर मृत्यु भएको जानकारी दिनुभयो । “बिजुलीको पोल आफैँले ढालेछ । त्यही माथि तार नै मुखमा चपाएपछि रोनाल्डो त्यहीँ नै करेन्ट लागेर ढलेछ,” उहाँले भन्नुभयो ।

हात्ती संरक्षण र प्रजननमा महत्वपूर्ण योगदान पुर्‍याएको रोनाल्डोको मृत्युले एउटा जङ्गली हात्तीको मृत्यु मात्र नभएर चितवनमा हात्तीको प्राकृतिक प्रजनन प्रव्रिmयामा समेत ठुलो क्षति पुगेको छ । रोनाल्डोको शनिबार नै पशु चिकित्सकहरूले पोस्टमार्टम गरी अन्तिम संस्कारसमेत गरेका छन् । पोथी हात्तीलाई प्राकृतिक रूपमा प्रजनन गराउने प्रमुख जङ्गली भाले हात्तीमध्ये रोनाल्डो महत्वपूर्ण थियो । चितवन राष्ट्रिय निकुञ्जका पूर्वपशु चिकित्सक डा. विजय श्रेष्ठ रोनाल्डो पहिलो पटक सन् २००२ मा चितवनमा देखिएको बताउनुहुन्छ । “त्यतिबेला विश्व फुटबलमा ब्राजिलका चर्चित खेलाडी रोनाल्डो चर्चामा थिए । उनले बललाई जताबाट छिराएर पनि गोलपोस्टमा चुमाउँथे । त्यसरी नै रोनाल्डोले पनि ढोईको भावना बुझेर सहवासमा रमाउने भएकाले कर्मचारीले त्यही खेलाडीको नामबाट जङ्गली भाले हात्तीको नाम पनि ‘रोनाल्डो’ राखे,” उहाँले भन्नुभयो ।

रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र, विशेष गरी सौराहा र खोरसोर आसपासका क्षेत्रमा बस्दै आएको थियो । समयसँगै रोनाल्डो हात्ती प्रजनन केन्द्रका लागि परिचित जङ्गली भाले हात्ती बन्यो । यो हात्ती कहाँबाट चितवन आयो भन्ने यकिन कतै भेटिँदैन । हात्तीमा विद्यावारिधि गर्नुभएका बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक राम समूहबाट छुट्टिएर आउने क्रममा यो हात्ती पनि बाहिरबाटै चितवन आइपुगेको तर्क गर्नुहुन्छ । “जसरी मकुना (अहिले मरेको), धुव्रे जस्ता भाले हात्ती झापा हुँदै चितवन आए त्यसै गरी रोनाल्डो पनि उतैबाट आएको हुन सक्छ,” डा. रामले भन्नुभयो, “हात्तीले सहवास गर्दा मातृ सम्बन्धमा सम्बन्ध राख्दैन । विशेष भाले हात्ती वयस्क भएपछि आफ्नो गोलबाट छुटिएर एक्लिनुका कारण पनि यही हो ।”

एक्लिएर चितवन आएको रोनाल्डोले प्रजनन केन्द्रकै ढोईहरूसँगै रमाएर बस्न थाल्यो । उसले ढोईलाई जङ्गलमै लगेर सहवास गर्ने गर्दथ्यो । प्रजनन केन्द्रको एउटा घटना  सम्झँदै केन्द्रका प्रमुख मनिपुरन चौधरी भन्नुहुन्छ, “खोरसोरस्थित हात्ती प्रजनन केन्द्रबाटै महेन्द्रकली ढोईलाई रोनाल्डोले जङ्गलतर्फ लग्यो । खुट्टामा लगाइएको साङ्लो छिनाएर महेन्द्रकली जङ्गल पसेपछि रोनाल्डोले उसलाई तीन दिनसम्म जङ्गलमै राख्यो । दुवै रोमान्समा दिन बिताएपछि महेन्द्रकली आफैँ प्रजनन केन्द्र फर्किई रोनाल्डो जङ्गलतर्फ लाग्यो ।”

प्रजनन केन्द्रका कर्मचारीका अनुसार प्राकृतिक प्रजननमा रोनाल्डो जस्ता जङ्गली भाले हात्तीको भूमिका महत्वपूर्ण छ । घरपालुवा पोथी हात्ती प्रजननका लागि तयार भएका बेला जङ्गलबाट आउने भाले हात्तीले उनीहरूसँग प्राकृतिक रूपमा सहवास गर्छन् । यही कारण घरपालुवा हात्तीका पोथीसँग प्रजनन गर्ने जङ्गली भाले हात्तीलाई चितवनमा ‘ज्वाइँराजा’ भन्ने गरिन्छ । रोनाल्डो पनि त्यस्तै ज्वाइँराजा हात्ती हो ।

रोनाल्डोका तेत्तिस सन्तान

२०५७ सालमा जङ्गली हात्तीको आक्रमणमा प्रजनन केन्द्रको धीरेन्द्रप्रसाद नामको भाले हात्ती मरेपछि केन्द्रले घरपालुवा भाले हात्तीबाट प्रजनन गराउने अभ्यासलाई निरन्तरता दिन रोक्यो । योसँगै  प्रजननका लागि जङ्गली भाले हात्तीको भर पर्न बाध्य भएको प्रमुख चौधरीले बताउनुभयो । २०४४ सालमा स्थापना भएको केन्द्रमा स्थापनादेखि हालसम्म ७१ वटा छावा जन्मिएका छन् । केन्द्रमा रहेको तथ्याङ्क अनुसार २०५० सालमा रामप्यारीकलीबाट जन्मिएको ‘चितवनकली’ केन्द्रकै पहिलो सन्तान थियो । त्यसयता  केन्द्रमा हात्तीको सङ्ख्या विस्तार हुँदै आएको छ । प्रजनन केन्द्रमा जन्मिएका छावामध्ये आधा जसो रोनाल्डोकै सन्तान हुन् । रोनाल्डोबाट मात्रै ३३ वटा छावा जन्मिएको केन्द्रमा तथ्याङ्क छ ।

रोनाल्डो केवल जङ्गलमा विचरण गर्ने एउटा जङ्गली भाले हात्ती थिएन । चितवनमा संरक्षण गरिएका घरपालुवा पोथी हात्तीको प्राकृतिक प्रजनन प्रव्रिmयामा लामो समयसम्म योगदान गर्ने महत्वपूर्ण भाले हात्ती थियो ।

लियो पन्ध्र जनाको ज्यान

रोनाल्डो संरक्षणका दृष्टिले महत्वपूर्ण भए पनि मानिसका लागि भने सधैँ सुरक्षित हात्ती थिएन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा विचरण गर्ने क्रममा उसले स्थानीय बासिन्दा र हात्ती सुसारेमाथि आक्रमण गरेर ज्यान लिएको पाइन्छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश मगरका अनुसार यो हात्तीले चितवनमा १५ जना मानिसको ज्यान लिएको छ ।

२०७३ साल मङ्सिर २० गते प्रजनन केन्द्रकै गणेशकलीसँग सहवास गरिरहेका बेला रोनाल्डोले गरेको आक्रमणमा २५ वर्षीय भारतीय महिलाको मृत्यु भएको घटना प्रजनन केन्द्रका कर्मचारीमा अहिले पनि चर्चित घटना हो । “परिवारसहित नेपाल घुम्न आएकी ती भारतीय महिलामाथि रोनाल्डोले आक्रमण गरेको थियो,” एक कर्मचारीले भन्नुभयो ।

रोनाल्डो बलियो र क्षमतावान् पनि थियो । केन्द्रका प्रमुख चौधरीका अनुसार प्रजनन केन्द्रमा यसले रासलिला मनाउन धुब्रे र गोविन्दे जस्ता जङ्गली हात्तीलाई बेला बेलामा लखेट्ने गर्दथ्यो । चौधरी भन्नुहुन्छ, “प्रजनन केन्द्रका ज्वाइँराजा मानिने हात्तीहरू नानापाटेगर, रोभियो, टुइटे, मकुना पछि रोनाल्डो पनि हाम्रो माझबाट सधैँका लागि गयो ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर