आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

काठमाडौं ।  आज आश्विन सङ्क्रान्तिका दिन कालिगढ तथा श्रमिकहरूले भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरी विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाउँदैछन्। यस अवसरमा देशभरका विभिन्न कलकारखाना, उद्योग र कार्यशालाहरूलाई विशेष रूपमा सजाएर श्रमिकहरूले भव्यताका साथ यो दिवस मनाउने गर्छन्।

आजका दिन कालिगढहरूले आफूले प्रयोग गर्ने औजार, यन्त्र र इन्जिन जडान भएका सवारी साधनहरूको पूजा गर्छन्। यसो गर्दा औजारहरू धेरै समय टिक्ने, कामका बेला नबिग्रने र राम्रो काम गर्न सकिने धार्मिक विश्वास छ। पूजापछि बालुवा वा अन्य सामग्रीबाट बनाइएको विश्वकर्माको मूर्तिलाई वाग्मतीको मुहानस्थल सुन्दरीजल वा अन्य पवित्र नदीहरूमा लगेर विसर्जन गर्ने परम्परा छ।

धार्मिक मान्यताअनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी लुकाएका थिए। त्यसै समयदेखि उनलाई सफल वास्तुविद्का रूपमा मानेर पूजा गर्ने परम्परा चलेको प्राध्यापक तोयराज नेपाल बताउँछन्। प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये पश्चिम दिशाको रक्षक मानिने यो ‘भेद द्वारका’ हाल पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ।

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाता मानिन्छ र उनले ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु ग्रन्थको रचना गरेको वास्तुशास्त्री शिव पोखरेलको भनाइ छ। यही विद्वताको सम्मान गर्दै वास्तुविद्हरूले आजको दिनलाई वास्तु दिवसका रूपमा मनाउँछन्। चार उपवेदहरूमध्येको स्थापत्यवेदमा वास्तुशास्त्रको विषय उल्लेख छ। पछिल्लो समय नेपालमा स्थापत्य वेदमा आधारित सहर तथा आवास निर्माण गर्नेहरूको सङ्ख्या बढ्दै गएकाले वास्तु विद्याको पुनर्जागरण र महत्त्व झन् बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर