आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन पर्व मनाइँदै

काठमाडौं ।  कुशेऔँशी पर्व शुक्रबार वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।

यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिनमात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

पितृसम्मान दिवस

यसै अवसरमा आज छोराछोरीले परम्पराअनुसार आआफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको घुइँचो लाग्छ ।

मेलाका सबै तयारी गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि लाग्ने मेला लाग्छ । बेत्रावतीमा पिता दिवङ्गत भएकाहरू तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्छन् । यस वर्ष भोटेकोशी बाढीका कारण बेत्रावतीमा मेला लाग्ने–नलाग्ने निश्चित भएको छैन ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने ‘बुद्धोक्त पाराजिकाय’ नामक धर्मग्रन्थमा उल्लेख छ । आजको दिनमा थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्वका रूपमा लिइन्छ ।

मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

सांस्कृतिक र पारम्परिक चाडपर्वको धनी मानिने मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदैछ । चन्द्रमासको भदौको औँसी तिथिका दिन यो पर्व मनाउने मैथिल परम्परा छ । पर्वका अवसरमा आज सनातन वैदिक परम्पराका अनुयायी मैथिल कुश सँगाल्न लागेका छन् ।

हिन्दू मैथिल परम्परामा भदौ औँसीका दिनलाई ‘कुशअमबसीया’ भनिन्छ । यस दिन वैदिक मन्त्रोच्चारण गर्दै धार्मिक विधि र कर्मकाण्डमा अति पवित्र मानिएको वनस्पति कुश सङ्ग्रह गरेर घरमा राख्ने चलन छ । यस दिन सङ्ग्रह गरिएको कुश वर्षभरि गरिने पितृकार्य र शुभकार्यमा प्रयोग गरिन्छ । कुशबिना सामान्यतः हिन्दू परम्पराका कुनै कार्य सम्पन्न नहुने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित दिनेशकुमार झा बताउनुहुन्छ ।

पर्वका दिन हिन्दू परम्परामा पुरोहितले आफ्ना यजमानका घरमा शास्त्रोक्त विधिले उखालिएको कुश मुठा पारेर घरको दलिनमा सिउरने चलन छ । तर मिथिलामा भने घरका मुख्य पुरुषले आफैँ ब्रह्ममुहूर्तमा कुश उखेलेर पवित्र ढङ्गले घरमा राख्ने चलन छ । कुश उखल्दा गरिने मन्त्रोच्चारण यस्तो छ–

‘विरिञ्चिनां सहोत्पन्नः परमेष्ठी निसर्गतः ।
नुद सर्वाणी पापानी दर्भ स्वस्तिकरो भव ।।
पूर्व मन्त्रं समुच्चार्य ततः पूर्वोतरामुखः ।
हूँफट्कारेण मन्त्रेण सकुच्छित्वा समुद्धरेत ।।’

यसरी उखेलिएको कुश कर्मकाण्डका विधिमा पवित्र मानिन्छ । हिन्दू वैदिक परम्परामा प्रत्येक शुभकार्य पितृकार्य, त्यसको सङ्कल्प कुशबिना कल्पना नै नगरिएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउनुहुन्छ । मैथिल परम्परामा यस मठका मठाधीश सांस्कृतिक तथा धार्मिक प्रतिनिधि मानिने चलन छ ।

हिन्दू धर्ममा खास चाडपर्वका विधि, पितृकार्य र अन्य कुनै पनि शुभकार्यको कर्ताले कुशको औठी लगाउनैपर्ने कर्मकाण्डीय विधान छ । सबैजसो वैदिक कार्यका कर्ताले जलमा डुबाइएको कुशका टुक्रा, जाँै, तिल समातेर गरेको सङ्कल्पपछि मात्र मुख्य काम प्रारम्भ भएको मानिन्छ ।

मैथिल परम्परामा यस दिन सङ्ग्रह गरिएर घरमा राखिएको कुशको मुठा विघ्ननाशक र कल्याणदायक हुने विश्वास गरिन्छ । शास्त्रीय मतनुसार विधिपूर्वक यस दिन घरमा राखिएको कुशले घरसहितका भौतिक सम्पत्ति र परिवारको रक्षा गर्ने विश्वास छ । मिथिलामा यस दिन दिवङ्गत पितृका लागि तर्पण दिने परम्परा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर