अन्तिम संस्कार होइन, सुरक्षित शव व्यवस्थापन : प्रहरी

काठमाडौं ।  भोटेकोशी हिमबाढीमा परी मृत्यु भएकाको शव तत्काल सनाखत हुन नसकेका कारण वैज्ञानिक प्रमाण राखी जमिनमुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको छ । मृत मानव अङ्गलाई ‘बेवारिसे’ मानेर अन्त्येष्टि गर्न लागिएको नभई शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित गरेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमिनमुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको जनाइएको छ ।

कतिपय शव सग्लो अवस्थामा नरहेका, केही कुहिन थालेका र ठुलो सङ्ख्यामा शव फेला परेपछि अस्पताल तथा अस्थायी शवगृहमा राखिरहन कठिन र थप असुरक्षित हुने भएकाले कानुनी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आवश्यक प्रमाण सुरक्षित गरेर शव व्यवस्थापनको प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रत्येक शवको तस्बिर, हुलिया, शरीरमा रहेका विशेष चिह्न, फरेन्सिक विवरण र डिएनए नमुना सुरक्षित राखी व्यवस्थापन मात्र गर्न लागिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “शवको व्यवस्थापन भनेको तत्काल हटाउने वा अन्तिम संस्कार गर्ने होइन । भविष्यमा आफन्तले सनाखत गर्न सक्ने गरी प्रत्येक शवका वैज्ञानिक प्रमाण सुरक्षित राखेर जमिनमुनि सुरक्षित व्यवस्थापन गर्न लागिएको हो ।” उहाँले शव फेला परेको स्थान, अवस्था र छुट्टै कोड नम्बरसमेत अभिलेख राखिने भएकाले बर्सौंपछि पनि आफन्तले दाबी गरेमा वैज्ञानिक परीक्षणमार्फत सनाखत गरी बुझाउन सकिने बताउनुभयो । यस्तो अभ्यास अन्य विकसित मुलुकमा पनि रहेको उहाँको भनाइ छ ।

प्रवक्ता काफ्लेका अनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय गरी यस्तो व्यवस्थापन गरिएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीका अनुसार बाढीबाट ल्याइएका धेरै शव क्षतविक्षत र कुहिएको अवस्थामा रहेकाले पहिचान गर्न कठिन भइरहेको छ ।

शवलाई लामो समयसम्म शीतभण्डारणमा राख्न पनि सम्भव नहुने उहाँले बताउनुभयो । शिक्षण अस्पतालको शवगृहमा सामान्य अवस्थामा करिब १५० शव राख्न सकिने र धेरै शव राख्दा थप असुरक्षित हुने बताउँदै जमिनमुनि सुरक्षित रूपमा शवको व्यवस्थापन गर्ने अभ्यास वैज्ञानिक दृष्टिले पनि उचित मानिन्छ, यस्तो प्रयास विकसित मुलुकमा पनि रहेको उहाँले बताउनुभयो ।

चितवनमा २७२ शव व्यवस्थापन

बाढीले बगाएर चितवनका त्रिशूली र नारायणी नदी किनारमा फेला परेका शवको व्यवस्थापन नेपालको कानुन र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभएको छ ।

शव व्यवस्थापनबारे विभिन्न टीकाटिप्पणी हुन थालेपछि आइतबार पत्रकार सम्मेलन गर्दै उहाँले शवको दाहसंस्कार वा अन्तिम संस्कार नगरिएको स्पष्ट पार्नुभयो । अर्यालले भन्नुभयो, “यो दाहसंस्कार होइन, अन्तिम संस्कार पनि होइन । माटोमुनि राखेर व्यवस्थापन मात्रै गरिएको हो । पछि डिएनए मिल्ने परिवार आएमा पहिचानका आधारमा शव उपलब्ध गराउन सकिन्छ ।”

चितवनमा हालसम्म २६४ शव फेला परेका छन् । तीमध्ये १० शवको सनाखत भइसकेको छ भने बाँकी २५४ शव व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ । शनिबारदेखि सुरु भएको व्यवस्थापन आइतबार पनि जारी रहेको र सोमबारसम्म पूरा गर्ने तयारी गरिएको चितवन प्रहरीले जनाएको छ । भरतपुर अस्पतालका फरेन्सिक विशेषज्ञ डा. सुरज शर्माले पहिचानका लागि शरीरमा रहेका कोठी, टाटु जस्ता विशेष चिह्न पोस्टमार्टम प्रतिवेदनमा उल्लेख गरिएको छ । डिएनए परीक्षणका लागि सम्भव भएसम्म दाँत र त्यसो गर्न नसकिने अवस्थामा हड्डीको नमुना सङ्कलन गरिएको जानकारी दिनुभयो ।

७९४ शव फेला

नेपाल प्रहरीका अनुसार भोटेकोशी बाढीपछि रसुवाबाट १३, नुवाकोटबाट ५४, धादिङबाट ५०, चितवनबाट २६४, गोरखाबाट ६१, तनहुँबाट ३७, पूर्वी नवलपरासीबाट १९७ र पश्चिम नवलपरासीबाट १२० गरी विभिन्न जिल्लाबाट ७९४ शव फेला परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर