साउनको आज अन्तिम सोमबार श्रद्धालुको घुइँचो

काठमाडौं । साउन महिनाको आज अन्तिम सोमबार काठमाडौंस्थित पशुपतिनाथसहित देशभरका शिवालयमा हिन्दु श्रद्धालुको घुइँचो लागेको छ । साउन महिनामा पवित्र नदी, तालबाट जल लगेर शिवालयमा चढाउने तथा बोलबम मेला पनि लाग्छ । बोलबम तीर्थालुको पनि देशभरका शिवालयमा घुइँचो छ । विशेषगरी आज अन्तिम दिन काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्न बोलबम श्रद्धालुको घुइँचो लाग्नाले पशुपति क्षेत्रमा भक्तजनहज्ञको विशेष चहलपहल देखिएको छ ।

साउनको सोमबारमा भगवान् शिवको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनामा निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको धार्मिक कथन अनुसार विशेष गरी हिन्दु महिलाले यसलाई बढी महत्व दिने गरेका छन् । साउन महिनाका सोमबार व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान्, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दु पुराणमा मुख्य तीन थरी व्रतको चर्चा पाइन्छ । साउने सोमबार, १६ सोमबार र सोम प्रदोष । अन्य बारको तुलनामा साउनको सोमबार व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुणा बढी फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

काठमाडौँको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वरलगायत चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थल देवघाटधाममा पूजा गर्ने र बोलबम मेला भर्नेको घुइँचो लाग्ने गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर