अर्घाखाँची गिद्धका लागि वासस्थानका रूपमा परिचित हुँदै
काठमाडौं । पछिल्ला वर्षहरूमा अर्घाखाँची गिद्धका लागि महत्वपूर्ण वासस्थानका रूपमा परिचित बन्दै गएको छ । हिमाली भेगमा पाइनेदेखि तराई क्षेत्रमा बसोबास गर्ने गिद्धसमेत जिल्लाका विभिन्न स्थानमा देखिन थालेपछि अर्घाखाँची गिद्ध संरक्षणका दृष्टिले विशेष महत्वको क्षेत्र बनेको हो ।
जिल्लाका विभिन्न क्षेत्रमा हाल पाँच प्रजातिका गिद्ध पाइने गरेका छन् । गिद्ध संरक्षण अभियानका सदस्य कृष्णप्रसाद भुसालका अनुसार अर्घाखाँचीका सामुदायिक वन, भिरपाखा, मरघट, खोँच तथा ढकालगाउँलगायतका स्थानमा डङ्गर, सुँड, गोभे, हिमाली र हाडफोर गरी पाँच प्रजातिका गिद्ध नियमित रूपमा देखिने गरेका छन् ।
विशेष गरी हिमाली क्षेत्रमा पाइने हिमाली गिद्ध र तराईमा पाइने डङ्गर गिद्ध एउटै क्षेत्रमा भेटिनु अर्घाखाँचीको विशेषता बनेको छ । यसले जिल्लाको भौगोलिक तथा जैविक विविधताले विभिन्न प्रजातिका गिद्धलाई अनुकूल वातावरण प्रदान गरेको पुष्टि गर्छ । पछिल्ला केही वर्षयता अर्घाखाँची गिद्धको स्थायी वासस्थानका रूपमा विकास हुँदै गएको दाबी उहाँले गर्नुभयो । जिल्लाको अर्घा, घेरको भिर, सिमलपानीलगायतका ठाउँमा गिद्ध रहने गरेका छन् । नेपालमा हाल आठ प्रजातिका गिद्ध पाइने भए पनि अर्घाखाँचीमा मात्रै पाँच प्रजातिको उपस्थिति छ ।
पर्याप्त आहार स्रोत तथा अनुकूल प्राकृतिक वातावरणका कारण गिद्ध संरक्षणका लागि यो जिल्ला उपयुक्त क्षेत्र बनेको हो । गिद्ध संरक्षणका लागि स्थानीय तह, सरकारी निकाय, संरक्षणकर्मी तथा विभिन्न गैरसरकारी संस्थाले समेत निरन्तर पहल गर्दै आएका छन् ।
स्थायी रूपमा बसोबास गर्ने पाँच प्रजातिका अतिरिक्त समय समयमा सानो खैरो गिद्ध र राज गिद्धसमेत बसाइँ सरेर अर्घाखाँची आउने गरेको भुसालको भनाइ छ । पशुपालनमा प्रयोग हुने ‘डाइक्लोफेनेक’ औषधीका कारण केही वर्षअघिसम्म नेपालमा गिद्धको सङ्ख्या ९५ प्रतिशतभन्दा बढीले घटेको थियो । त्यसपछि संरक्षण अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइएपछि गिद्ध संरक्षणमा सकारात्मक उपलब्धि हासिल हुन थालेको छ ।
