सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस आज कै दिन मनाउन थालिएको हो । यस वर्षका लागि “सुशासनको आधारः प्रविधिमैत्री जिम्मेवार पत्रकार” राष्ट्रिय नारा तय गरिएको छ ।
दिवसले पत्रकारिता जगतलाई प्रोत्साहित र जिम्मेवार पत्रकारिताको विकासका साथै नयाँ पुस्तालाई हौसला र प्रेरणा प्रदान गर्नेमा विश्वास व्यक्त गरिएको छ । आजबाट गोरखापत्र स्थापनाको १ सय २६ औँ वर्षमा प्रवेश गरेको छ । गोरखापत्रको नियमित प्रकाशन आरम्भ विसं १९५८ वैशाख २४ गते सोमबारदेखि साप्ताहिक रूपमा भएको थियो ।
स्थापनाकालदेखि विभिन्न आरोह अवरोह पार गर्दै आएको यस अखबारले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । गोरखापत्रका सहप्रकाशनमा अङ्ग्रेजी भाषाको ‘दी राइजिङ नेपाल’, मासिक पत्रिका ‘मधुपर्क’, ‘युवामञ्च’, ‘मुना’ र ‘गोरखापत्र अनलाइन’ संस्करण रहेका छन् ।
गोरखापत्र लोकतान्त्रिक मूल्यको पहरेदार बनिरहोस् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले गोरखापत्रले सदैव राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्यको पहरेदार बनेर जनताको निर्भीक आवाज बनिरहोस् भन्नुभएको छ ।
गोरखापत्र १२६ वर्ष प्रवेश तथा राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, ‘‘राष्ट्र निर्माणको यात्रामा सत्य, तथ्य र निष्पक्ष सूचनाको भूमिका अपरिहार्य हुन्छ। गोरखापत्रले सदैव राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्यको पहरेदार बनेर जनताको निर्भीक आवाज बनिरहोस् । शिक्षा, स्वास्थ्य, आर्थिक न्याय र सुशासनको जगमा समृद्ध नेपाल निर्माण गर्ने साझा राष्ट्रिय सङ्कल्पमा यस संस्थानको कलम अझ सशक्त ढङ्गले अगाडि बढोस् भन्ने कामना गर्दछु ।’’
राष्ट्रपतिको शुभकामना पूर्ण पाठ
शुभकामना
नेपाली पत्रकारिताको धरोहर र इतिहासको जीवन्त साक्षी गोरखापत्र १२५ वर्षको गौरवशाली यात्रा पूरा गरी १२६ औं वर्षमा प्रवेश गरेको तथा गोरखापत्र संस्थानले आफ्नो ६४ औं वार्षिकोत्सव मनाउन लागेको सुखद अवसर तथा पत्रकारिता दिवसको उपलक्ष्यमा म संस्थान परिवार एवं सम्पूर्ण पाठक तथा सञ्चार जगतप्रति हार्दिक बंधाई तथा शुभकामना व्यक्त गर्दछु ।
वि।सं। १९५८ वैशाख २४ गतेबाट सुरु भएको गोरखापत्रको यात्रा केवल एक प्रकाशन गृहको कथा मात्र होइन, यो नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको गाथा पनि हो । राणाकालीन समयदेखि गणतन्त्रसम्मका हरेक घुम्ती र मोडहरूको साक्षी बनेको यस पत्रिकाका पन्नाहरूमा नेपालको आधुनिक इतिहास सुरक्षित छ।
गोरखापत्रले नेपाली समाजको विविधतालाई जसरी आत्मसात् गरेको छ, त्यो आफैंमा प्रशंसनीय छ । ४९ वटा राष्ट्रिय भाषामा सामग्री प्रकाशन गरेर यसले नेपालको बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई राज्यको मूलधारसँग जोड्ने काम गरेको छ। साना जाति, सिमान्तकृत समुदाय र क्षेत्रीय आवाजहरूलाई प्राथमिकता दिएर गोरखापत्रले समावेशी लोकतन्त्रको मर्मलाई व्यवहारमा उतारेको छ । गिद्ध प्रेसको प्रारम्भिक जगदेखि आधुनिक डिजिटल प्लेटफर्मसम्मको यसको विकासक्रमले नेपाली पत्रकारिताको मानक तय गरेको छ । आजको द्रुत डिजिटल युगमा पनि सामाजिक सञ्जालमार्फत सूचनाको पहुँचलाई व्यापक बनाउनु यसको समयसापेक्षताको प्रमाण हो। संस्थानले आफ्नो वार्षिकोत्सवमा प्रकाशन गर्न लागेको सुशासन विशेषाङ्क र ऐतिहासिक दस्तावेजका रूपमा आउन लागेको सामग्रीले मुलुकको समृद्धि र पारदर्शिताका लागि महत्त्वपूर्ण दिशानिर्देश गर्नेमा म विश्वस्त छु । यस्ता प्रकाशनहरूले वर्तमान पुस्तालाई विगतको सङ्घर्ष बुझ्न र भविष्यको स्पष्ट मार्गचित्र कोर्न मद्दत पुऱ्याउनेछन्।
अन्त्यमा, राष्ट्र निर्माणको यात्रामा सत्य, तथ्य र निष्पक्ष सूचनाको भूमिका अपरिहार्य हुन्छ। गोरखापत्रले सदैव राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्यको पहरेदार बनेर जनताको निर्भीक आवाज बनिरहोस् । शिक्षा, स्वास्थ्य, आर्थिक न्याय र सुशासनको जगमा समृद्ध नेपाल निर्माण गर्ने साझा राष्ट्रिय सङ्कल्पमा यस संस्थानको कलम अझ सशक्त ढङ्गले अगाडि बढोस् भन्ने कामना गर्दछु ।
ऐतिहासिक गौरवलाई अक्षुण्ण राख्दै डिजिटल भविष्यतर्फ लम्किरहेको गोरखापत्रको उत्तरोत्तर प्रगतिको पुनः शुभकामना ।
जय नेपाल
