नेपालको शिक्षामा सहकार्यका लागि नर्वे सरकार उत्सुक

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि नर्वेका राजदूत डागनी म्योसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदलगायतका क्षेत्रमा नर्वे सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको थियो ।

विशेष गरी वर्तमान सरकारको प्राथमिकता तथा नेपालको विद्यालय शिक्षामा नर्वेले पुर्‍याउँदै आएको सहयोगको निरन्तरता र आगामी साझेदारीका विषयमा केन्द्रित रहेर छलफल भएको छ ।

उक्त भेटमा शिक्षामन्त्री पोखरेलले नर्वे सरकारले नेपालको विद्यालय शिक्षा क्षेत्र, विशेष गरी समावेशिता, समता, आधारभूत सिकाइ (फन्डामेन्टल लर्निङ), जलवायु अनुकूलित शिक्षा प्रणाली (क्लाइमेट स्मार्ट एजुकेसन सिस्टम) लगायतका क्षेत्रमा गरिरहेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

पोखरेलले नर्वेको शिक्षा प्रणालीको उत्कृष्टताको प्रशंसा गर्दै नेपालले उक्त प्रणाली र प्रविधिबाट धेरै कुरा सिक्न सक्ने र त्यसका लागि मन्त्रालय तयार रहेको विचार व्यक्त गर्नुभयो ।

भेटमा राजदूत म्योसले नेपालको विद्यालय शिक्षामा नर्वेले पुर्‍याउँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजदूत म्योसले आफू नेपाल सरकारको कार्ययोजना र प्राथमिकताका बारेमा जानकार रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा थप सहकार्य गर्न नर्वे सरकार उत्सुक रहेको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर