औषधि मूल्यवृद्धि : उच्चस्तरीय छानबिन समिति गठन
काठमाडौं । औषधि व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकालमाथि प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको आरोप लागेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उच्चस्तरीय नयाँ छानबिन समिति गठन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार औषधि विज्ञ प्रा.डा. बालमुकुन्द रेग्मीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिले केही दिनदेखि नै गोप्य रूपमा अनुसन्धान अघि बढाएको जनाइएको छ ।
यसअघि गत २६ चैतमा स्वास्थ्य मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको भए पनि कार्यादेश नै ढिला दिइँदा समिति प्रभावकारी रूपमा काम गर्न नसकेको बताइएको छ ।
स्रोतका अनुसार पुरानो समितिका सदस्यहरू उपयुक्त नभएको गुनासो, केही सदस्यको अनिच्छा तथा कार्यमा ढिलासुस्ती देखिएपछि प्रधानमन्त्री कार्यालयले नै नयाँ र शक्तिशाली समिति गठन गरेको हो ।
