‘जेनेरिक नेम’ मै ब्लक लेटरमा औषधि लेख्न निर्देशन
काठमाडौं । वीर अस्पतालले औषधि सिफारिस प्रणालीलाई पारदर्शी र मापदण्डअनुसार बनाउन नयाँ व्यवस्था लागू गरेको छ। अस्पताल प्रशासनले अस्पतालको फार्मेसी सेवालाई थप व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउन ११ बुँदे निर्देशन जारी गरेको हो। अस्पतालले फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूका लागि स्पष्ट कार्यविधि, अनुशासन र सेवा मापदण्ड निर्धारण गर्दै यस्तो निर्देशन जारी गरेको हो।
अस्पतालले जारी गरिएको निर्देशनअनुसार अब फार्मेसी कर्मचारीहरूले ड्युटी रोटरअनुसार तोकिएको समयमा अनिवार्य रूपमा उपस्थित भई काम गर्नुपर्नेछ। सेवाग्राहीप्रति शिष्ट, नम्र र जिम्मेवार व्यवहार गर्नुपर्ने, पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने तथा समयभन्दा बढी काम गर्नेहरूलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन (इन्सेन्टिभ) दिने व्यवस्था गरिएको छ। अस्पताल प्रशासनले चिकित्सकहरूलाई कम्पनी वा ब्रान्ड नाम उल्लेख नगरी अनिवार्य रूपमा ‘जेनेरिक नेम’ मै ब्लक लेटरमा औषधि लेख्न निर्देशन दिएको हो।
