अबदेखि एसईईको परीक्षाफल एक महिनाभित्र
काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको परीक्षाफल एक महिनाभित्र प्रकाशित हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले १५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न निर्देशन दिनुभएको थियो । तर, व्यस्त कार्यतालिका र प्राविधिक कारणले १५ दिनमा सम्भव नहुने भएपछि एक महिनाभित्र प्रकाशित गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्नेगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तालिका बुझाएको थियो ।
स्रोतका अनुसार बोर्डले बुझाएको कार्यतालिका तालिका लिएर मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री शाहसँग परामर्श गर्नुभएको थियो । प्रधानमन्त्री शाहले सकेसम्म चाँडै परीक्षाफल प्रकाशित गर्न निर्देशन दिएपछि बोर्डले एक महिनामै परीक्षाफल प्रकाशित गर्न गृहकार्य सुरु गरेको छ ।
बोर्डले परीक्षा सकेलगत्तै सोही परीक्षा केन्द्रबाट परीक्षण गरेको उत्तरपुस्तिका बोर्डलाई बुझाउनुपर्नेछ । अर्थात् केन्द्रमा सबै परीक्षा सकेको भोलिपल्ट सबै विषयको उत्तरपुस्तिका केन्द्रमा बुझाउनुपर्नेछ । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले मन्त्रीको निर्देशनअनुसार एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्नेगरी गृहकार्य थालेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘निर्देशन प्राप्त भएलगत्तै सोहीअनुसार काम सुरु भइसकेको छ ।’
