बसन्तपुरमा चीर ठड्याइएसँगै यस वर्षको फागुपर्व सुरु
काठमाडौं । काठमाडौंस्थित बसन्तपुर क्षेत्रमा मङ्गलबार बिहान शुभ साइतमा चीर ठड्याइएसँगै यस वर्षको फागुपर्व (होली) विधिवत रूपमा सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको बिहान ७ बजेर १३ मिनेटको शुभ साइतमा चीर ठड्याइएको हो।
परम्पराअनुसार विशेष पूजा–आराधनापछि चीर उभ्याएर फागुपर्व प्रारम्भ गरिएको हो। चीर ठड्याउने कार्यमा स्थानीय गुठीका प्रतिनिधि, पुरोहित तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। चीर ठड्याउने परम्परा फागुपर्वको सुरुवात संकेत गर्ने चीर ठड्याउने परम्परा विशेषगरी काठमाडौँ उपत्यकामा प्रचलित छ। रंगीन कपडाका टुक्राहरू बाँधेर बनाइएको चीर ठड्याएपछि राजधानी क्षेत्रमा होलीको रौनक औपचारिक रूपमा सुरु हुन्छ।
फागुपर्वको महत्व फागुपर्व हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्वमध्ये एक हो। तराईका जिल्लाहरूमा पूर्णिमाको भोलिपल्ट मनाइने यो पर्व पहाडी तथा हिमाली क्षेत्रमा पूर्णिमाकै दिन विशेष रूपमा मनाइन्छ। धार्मिक विश्वासअनुसार होलीले दुष्ट शक्तिको अन्त्य र सत्यको विजयको सन्देश दिन्छ। वसन्तपुरमा चीर ठड्याइएसँगै राजधानीमा फागुपर्वको उल्लास छाएको छ।
