गरगहना लगाएर पशुपतिनाथको दर्शन गर्न नजान अनुरोध

काठमाडौं ।  प्रहरीले महाशिवरात्रि पर्वको दिन आज गरगहना लगाएर पशुपतिनाथको दर्शन गर्न नजान भक्तजनलाई अनुरोध गरेको छ । विभिन्न १३ बुँदे अनुरोधमार्फत प्रहरीले भक्तजनलाई सचेत गराएको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चोरी तथा लुटपाटका घटना हुनसक्ने भएकाले बहुमूल्य गरगहना नलगाउन, महत्त्वपूर्ण र महँगो सरसामान लिएर मन्दिरको दर्शनका लागि नआउन अनुरोध गरिएको बताए ।

पशुपतिनाथ मन्दिर प्राङ्गणमा सबै प्रकारका मोबाइल फोन, क्यामरालगायत सामग्रीको प्रयोग निषेध गरिएको तथा छालाका सामान, जुत्ताचप्पल, ज्याकेट, कम्मरपेटीलगाएर मन्दिरमा प्रवेश निषेध भएकाले त्यस्ता सामान तोकिएको सुरक्षित ठाउँमा राखेर मात्र दर्शन गर्न भनिएको छ । हरेक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आज भगवान शिवको विधिपूर्वक पूजाआराधना गरी देशभर मनाइँदैछ ।

आज देशभरका विभिन्न ठाउँ तथा छिमेकी भारतका तीर्थयात्रीको विशेष गरी पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्ने गर्छ । तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायतलाई निषेध गरिएको छ । यस्ता बस्तु तथा पदार्थ भेटिए प्रहरीले कारबाही गर्ने जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर