ट्रम्पको खुलेआम आँखाले बढाएको ग्रीनल्याण्डको महत्त्व !

काठमाडौं ।  रुस र अमेरिकाको बीचमा अवस्थित ग्रीनल्याण्ड अहिले चौतर्फी चर्चाको विषय बनेको छ । वैश्विक तापमान वृद्धिका कारण आर्कटिक क्षेत्र खुला हुन थालेपछि उक्त क्षेत्र अहिले महत्त्वपूर्ण बन्न पुगेको छ ।

नेटोमा सम्मिलित साझेदार राष्ट्र डेनमार्कको स्वामित्वमा रहेको ग्रीनल्याण्ड या त किनेर नत्र बल प्रयोग गरेर भए पनि हात पारेरै छाड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलेआम घोषणाले यसको महत्त्व झन् बढाएको छ । जलवायु संकटले ग्रीनल्याण्डको बरफको सतह घटाइरहेको छ । आर्कटिक क्षेत्रको समुद्री बरफ पनि पगालिरहेको छ । यसले गर्दा नयाँ सामुद्रिक मार्गहरू खुल्दैछन् । मूल्यवान् संसाधनहरू फेला परिरहेका छन् ।

यसैबीच ट्रम्पका धम्कीहरू बढ्दै गएका छन् । सुरुमा ठट्टा जस्ता ठानिएका उनका अभिव्यक्तिपश्चात् अहिले बरफ पग्लिँदै गएको ग्रीनल्याण्ड विस्तारै महत्त्वपूर्ण भूराजनीतिक तनाव विन्दु बन्दैछ । ग्रीनल्याण्ड कसरी फेरिँदैछ भन्ने बुझ्नलाई हामी तलको नक्सा हेर्न सक्छौँ ।

पग्लिँदै गएको सामुद्रिक बरफ

पाँच वर्ष अघिसम्म आर्कटिक क्षेत्रमा समुद्री बरफको क्षेत्रफल करिब ४६ लाख वर्ग किलोमिटर थियो । यो आकार लगभग युरोपेली संघसँग बराबर हो । तर ‘नेसनल स्नो एन्ड आइस डाटा सेन्टर’ को तथ्याङ्क अनुसार सन् १९८१ देखि २०१० बीच कायम रहेको औसत ६४ लाख वर्ग किलोमिटर क्षेत्रको तुलनामा यो २७ प्रतिशत कम भएको हो । यसबीच हराएको सामुद्रिक बरफको क्षेत्रफल लगभग लिबियासँग बराबर छ ।

आर्कटिक क्षेत्रमा घट्दै गएको बरफको अर्थ हो, अब वर्षाको समयमा रुसी तथा क्यानेडाली समुद्री किनारामा बरफ रहने छैन । उत्तरी ध्रुवमा बरफ पग्लिएर समुद्रको क्षेत्र बढ्न जाँदा कुनै समय पहुँचयोग्य नमानिएको आर्कटिक क्षेत्रमा अब पहुँच सम्भव हुँदैछ । आर्कटिक क्षेत्रका जलमार्गहरू सहज बन्दै त्यहाँ नयाँ जलमार्गहरू खुल्दैछन् । ध्रुवीय समुद्रहरू लामो अवधिका लागि जलमार्गका लागि खुला भएसँगै व्यावसायिक करिडोरका रूपमा विकास हुँदै गएका छन् ।

यसरी खुलेका नयाँ बाटाहरूमा सबैभन्दा विकसित उत्तरी समुद्री मार्ग हो, जुन उत्तर–पूर्वी मार्गमा पनि खप्टिएर जान्छ । साथै युरोपदेखि एसियासम्म फैलिएको रुसको आर्कटिक किनारा हुँदै जान्छ । यो मार्ग रुसको महत्त्वाकांक्षी मार्गको रूपमा रहेको छ ।

अझ पश्चिमतर्फ त्यो जलमार्ग क्यानडाको आर्कटिक द्वीपसमूहसँग पनि जोडिन्छ । यसका साथै अब बिस्तारै उत्तरी ध्रुव पार गर्ने केन्द्रीय आर्कटिक मार्ग पनि दीर्घकालीन योजनाका रूपमा देखा पर्दैछ । यो जलमार्गले वैश्विक व्यापारको नक्सा नै बदल्ने निश्चित छ । आर्कटिकमा खुलेका बाटाहरूले स्वेज नहरको विकल्प प्रस्तुत गर्छन् । साथै युरोप र पूर्वी एसियाबीचको यात्राको दुरी र समय आधा घटाइदिन्छन् ।

सन् २०२५ मा पहिलो पटक ‘इस्तानबुल ब्रिज’ नामको कन्टेनर जहाज उत्तरी समुद्री मार्ग हुँदै चीनबाट युरोपसम्म यात्रा गर्ने पहिलो ठूलो जहाज बन्यो । यो मार्गलाई ‘पोलार सिल्क रोड’ अर्थात् ‘ध्रुवीय रेशम मार्ग’ भनेर पनि चिन्ने गरिन्छ । इस्तानबुल ब्रिज नामको जहाजले चीनको निङ्बो सहरदेखि बेलायतको फेलिक्स्टोसम्मको यात्रा जम्मा २० दिनमा पूरा गरेको थियो । समुद्री क्षेत्रको अनुगमन गर्ने संस्था ‘मरिन एक्सचेन्ज अफ अलास्का’ को तथ्याङ्क अनुसार सन् २०२४ मा रुस र अमेरिका जोड्ने ‘बेरिङ जलसन्धि’ बाट ६ सय ६५ वटा ट्रान्जिटहरू भएका थिए । यो संख्या सन् २०१० को तुलनामा १ सय ७५ प्रतिशतले बढेको हो ।

नयाँ खुलेका यस्ता मार्गहरू जोखिमरहित भने छैनन्, जसका कारण तिनीहरूको व्यावसायिक उपयोगमा केही संशयहरू पक्कै देखिन्छन् ।नर्वेस्थित ‘फ्रिड्जोफ नानसेन इन्स्टिच्युट’ मा अनुसन्धानरत सेराफिमा एन्ड्रीभाका अनुसार रुसले युरोपबाट एसियासम्मको उत्तर–पूर्वी मार्गलाई वर्षभरि नै उपयोग गर्ने लक्ष्य लिएको छ । साथै बरफ फोडेर बाटो सफा गर्ने आणविक आइसब्रेकरहरूमा व्यापक लगानी गरिरहेको छ ।

अझै पनि जहाजहरू बेला–बेला बरफमा अड्किरहेका छन् । एन्ड्रीभाका अनुसार अहिले पनि ‘गर्मी’ मौसममा पनि कहिलेकाहीँ समस्याहरू देखा परिरहेकै छन् ।

आर्कटिक वरपर बढ्दो तनाव

धेरैजसो आर्कटिक राष्ट्रहरूले त्यस क्षेत्रमा आफ्नो दाबी गरिरहेका छन् । त्यस्तो दाबी गर्नेहरूमा क्यानडा, डेनमार्क, नर्वे, रुस र अमेरिका पर्छन् । संयुक्त राष्ट्रसंघको ‘कमिसन अन लिमिट्स अफ द कन्टिनेन्टल सेल्फ’ (सीएलसीएस) ले समुद्री किनाराका राज्यहरूका दाबीबारे सुझाव तथा सिफारिस गर्ने गरेको छ ।

अमेरिकाले यसअघि नै आर्कटिक तथा खासगरी ग्रीनल्याण्डमा आफ्नो सैन्य उपस्थिति जनाइसकेको छ । उत्तर–पश्चिम ग्रीनल्याण्डको दुर्गम इलाकामा रहेको ‘पिटुफिक बेस’ मा अमेरिका तथा नेटोका लागि क्षेप्यास्त्र सूचना प्रणाली, क्षेप्यास्त्र रक्षा प्रणाली तथा अन्तरिक्ष गतिविधिका केन्द्रहरू रहेका छन् ।

रुसले पनि पछिल्लो दशकमा मात्रै धेरै त्यस्ता सैन्य अड्डाहरू स्थापना गरिसकेको छ । साथै पुरानो सोभियतकालीन पूर्वाधार तथा हवाई अड्डाहरू पुनर्स्थापना गरिरहेको छ । सन् २०१८ मा चीनले यस क्षेत्रमा आफ्नो प्रभाव बढाउने प्रयास स्वरूप आफूलाई ‘नियर आर्कटिक स्टेट’ अर्थात् आर्कटिक छेवैको राज्य घोषणा गर्‍यो ।

अनुसन्धानकर्ता एन्ड्रीभा भन्छिन्, ‘गत १० देखि १५ वर्षमा आर्कटिकमा धेरैको सैन्य चासो बढ्दै गएको छ । साथै सन् २०२२ मा युक्रेनमा रुसको आक्रमणपछि यस क्षेत्रको परिदृश्यमा उल्लेखनीय परिवर्तन भएको छ ।’

उनी थप्छिन्, ‘हालै फिनल्यान्ड र स्वीडेन नेटोमा प्रवेश गरेसँगै यस क्षेत्रको सुरक्षा अवस्था धेरै फेरिएको छ । जसले गर्दा ‘नर्डिक’ क्षेत्रमा सामूहिक रूपमा ध्यान केन्द्रित भएको छ । कोला प्रायद्वीप तथा ब्यारेन्ट्स किल्ला लगायतमा नियन्त्रण गर्ने रुसको इच्छा पनि थप प्रबल हुँदै गएको छ ।’

सन् २०२२ यता रुसको ध्यान मूलतः युक्रेनमा केन्द्रित भएको अवस्थामा पनि आर्कटिक क्षेत्रमा उसको उपस्थिति उल्लेख्य रूपमा कायमै छ । नेटो सदस्य राष्ट्रहरूले आर्कटिक क्षेत्रमा आफ्नो नौसैनिक उपस्थिति सुदृढ बनाउँदै लगेका छन् । ‘आइसब्रेकर’ को निर्माण थप बढाउने घोषणाहरू भएका छन् ।

नर्डिक क्षेत्रमा भएको नेटोको विस्तारसँगै डेनमार्कको वायुसेना फिनल्यान्ड, नर्वे तथा स्वीडेनसँग थप एकाकार हुँदै गएको छ । सन् २०२४ मा चीनले आर्कटिक क्षेत्रमा ३ वटा बरफ फुटाउने जहाज तैनाथ गरेको थियो ।

ग्रीनल्याण्डको ‘क्रिटिकल मिनिरल’ मा चासो

‘क्रिटिकल मिनिरल’ को विश्वव्यापी तानातानमा पनि ग्रीनल्याण्डको ठूलो महत्त्व छ । ‘युएस जियोलोजिकल सर्भे’ का अनुमान अनुसार ग्रीनल्याण्डमा १५ लाख टन ‘रेयर अर्थ मेटेरियल’ को भण्डार छ । यो मात्रा विश्वकै आठौं हो ।

क्वानेफजेल्ड तथा तानब्रिज क्षेत्रमा दुई ठूला भण्डारहरू रहेको थाहा भएको छ । यस्ता भण्डारहरूमा शक्ति राष्ट्रहरूको चासो बढ्दै गएको छ ।

चीनको ‘शेङ्घे रिसोर्सेस’ कम्पनी क्वानेफजेल्डमा सञ्चालित उत्खनन् तथा प्रशोधन परियोजनाको दोस्रो ठूलो सेयरधनी हो, जसको हिस्सा ६ दशमलव ५ प्रतिशत छ ।

भौगोलिक विकटताका कारण अहिलेसम्म कुनै पनि ‘रेयर अर्थ’ खानी सञ्चालनमा आएका छैनन् । आज पनि ग्रीनल्याण्डको केवल २० प्रतिशत हिस्सा मात्रै बरफरहित छ । साथै यस टापुको धेरैजसो भाग वर्षको ठूलो कालखण्ड पहुँचयोग्य रहँदैन ।

तर ढुवानी मार्गहरू विस्तारै सहज हुँदै जाँदा तथा विश्वव्यापी तापमान वृद्धिका कारण पनि ग्रीनल्याण्डको अवस्था तीव्र रूपमा फेरिँदै जान थालेको छ । सतहमा रहेको बरफ घट्दै जाँदा नयाँ–नयाँ खनिज स्रोतहरू फेला पर्दै गएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर