कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ हात्तीको जन्म : नाम ‘भूपेन्द्र गज’

काठमाडौं ।  कोशी टप्पु वन्यजन्तु आरक्षमा गस्ती गर्न पालन–पोषणमा राखिएकी शोभा कली नामक हात्तीले ११ दिनअघि जन्म दिएको बच्चाको आज विधिवत् रूपमा नामकरण गरिएको छ। पूजाआजा तथा परम्परागत विधि पूरा गरी नवजात हात्तीको नाम भूपेन्द्र गज’ राखिएको आरक्षका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो।

नामकरण समारोहमा आरक्ष तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका कोसी  प्रदेश प्रमुख वीरेन्द्र गौतम, आरक्ष सुरक्षार्थ खटिएको  भीम काली गुल्माका  नेपाली सेनाका मेजर रमेश गुरुङ तथा स्थानीय सर्वसाधारणको बाक्लो उपस्थिति थियो। नयाँ हात्तीको आगमनसँगै आरक्षका कर्मचारी तथा सुरक्षातर्फ खटिएका निकायहरूमा खुशीको माहोल छाएको छ।

आरक्षमा हात्तीको अवस्था

कोशी टप्पु वन्यजन्तु आरक्षमा हाल १५ वटा हात्ती रहेका छन्। तीमध्ये चार वटा हात्ती चितवन राष्ट्रिय निकुञ्जमा काजमा रहेका छन् भने बाँकी हात्ती आरक्ष परिसरमै गस्ती, चरन व्यवस्थापन तथा संरक्षण कार्यमा परिचालित छन्। नवजात हात्ती ‘भूपेन्द्र गज’ लाई आगामी दिनमा आरक्षको गस्ती तथा संरक्षण गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

कोशी टप्पुमा रहेका घरेलु हात्तीहरू मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरण, गैँडालगायत अन्य वन्यजन्तुको निगरानी, घाँस–वनस्पति क्षेत्र व्यवस्थापन र अवैध गतिविधि रोकथाममा महत्वपूर्ण मानिन्छन्। आरक्षले लामो समयदेखि प्रशिक्षित हात्तीमार्फत गस्ती प्रणालीलाई प्रभावकारी बनाउँदै आएको छ।

नेपालमा हात्तीको अवस्था

नेपालमा जंगली हात्तीको संख्या पछिल्ला वर्षमा उतारचढावमा रहेको देखिन्छ। विभिन्न संरक्षण निकायका अध्ययन अनुसार देशभर करिब २००–२५० जंगली हात्ती रहेको अनुमान गरिन्छ। तराइका चुरे–भित्ता क्षेत्र, विशेषगरी पूर्वी तराइ, बर्दिया, चितवन र कंचनपुर पछिल्ला वर्षमा जंगली हात्तीको गतिविधि बढी भएको क्षेत्र मानिन्छ।

घरेलु/पाल्तु हात्तीको संख्या भने करिब १८०–२०० को हाराहारीमा रहेको वन मन्त्रालयका तथ्याङ्कमा उल्लेख छ। यसरी पालिएका हात्तीहरूको प्रयोग राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा गस्ती, आकलन, उद्धार तथा मानव–हात्ती द्वन्द्व नियन्त्रणमा महत्वपूर्ण रूपमा हुँदै आएको छ।

संरक्षणतर्फ महत्वपूर्ण संकेत

कोशी टप्पुमा नयाँ हात्ती जन्मिनु आरक्षको वन्यजन्तु व्यवस्थापन तथा संरक्षणका लागि सुखद संकेतका रूपमा लिइएको छ। स्थानीय समुदायको सहयोग, आरक्षका कर्मचारीको समन्वय र संरक्षणका प्रयासले हात्तीजस्ता संवेदनशील प्रजातिको प्रजननमा सकारात्मक प्रभाव पारेको आरक्ष स्रोतले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर