पितृ उद्धारको कामनासहित पशुपतिमा शतबीज छर्नेको घुइँचो
काठमाडौं । आज बाला चतुर्दशी अर्थात् शतबीज छर्ने दिन । हिन्दु धर्मावलम्बीहरूले कृष्ण पक्षको चतुर्दशीलाई विशेष रूपमा लिने गर्छन् । पितृ उद्धारको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्नेको घुइँचो लागेको छ ।
हिजो मङ्गलबार राति पितृका नाममा बत्ती बालेर बुधबार बिहान उनीहरूले छतबीज छरेका हुन् । आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महादीप बाली जाग्राम बसेर चतुर्दशीको बिहान शतबीज छर्ने चलन छ । शिवालयमा शतबीज छर्नाले मृत आत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वास गरिन्छ। आज बिहानै मृतकका आफन्तले शिवालयहरूमा शतबिज छर्ने गर्छन। हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।

बालाचतुर्दशी देवघाट र व्यास(पराशर धाममा भक्तजनको घुइँचो
हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा मनाइने बालाचतुर्दशी(शतबीज रोपण पर्वको अवसरमा आज बुधबार बिहानैदेखि देवघाट धाम, दमौलीस्थित सेती–मादी सङ्गम, व्यास–पराशर क्षेत्र तथा शिवालय मन्दिरहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ ।
विशेषगरी उत्तरबाहिनी रहेको दमौलीको सङ्गम क्षेत्र, त्रिशूली र कालीगण्डकीको सङ्गम रहेको देवघाट धामलाई अत्यन्त पवित्र स्थल मानिएकाले भीड झनै बाक्लिएको हो । दमौली र देवघाटमा स्नान, पिण्डदान, दीपदान तथा ‘एक मुठी अन्न’ दान गर्ने भक्तजनहरू बिहानैदेखि लाइनमा उभिएका छन् । वृद्ध–वृद्धा, नातागोता तथा परिवारसहित आएका तीर्थयात्रीहरूले व्रतपूजा, स्नान र दीपदान गर्दै धार्मिक माहोललाई झनै गहिरो बनाएका छन् । पण्डित दुर्गाभक्त अधिकारीका अनुसार यो दिन गरिने स्नान, दान र दीपदानले पुराना जन्मका पापकर्म नाश हुन्छन्। सङ्गम क्षेत्रमा दीपदान र अन्नदान अत्यन्तै फलदायी मानिन्छ ।

व्यास अन्नक्षेत्रका संरक्षक शान्तिस्वरुपानन्द दामोदर बाबाले देवघाट र दमौली क्षेत्रलाई धार्मिक दृष्टिले अत्यन्त शक्तिशाली स्थल मानिँदै आएको बताउँदै भन्नुभयो, “उत्तरवाहिनी भएकोले यहाँ गरिने स्नान, श्राद्ध र दान कल्याणकारी हुन्छ ।” बालाचतुर्दशीमा ‘शतबीज छर्ने’ विशेष परम्परा छ । धान, गहुँ, जौ, तिल, चना, मकै लगायतका विभिन्न बीउ र स्थानीय फलफूल मिसाएर बनाइने शतबीज छर्न हजारौं भक्तजन देवघाटमा आएका छन् । भक्तजनहरू अघिल्लो रात जाग्राम बसेर दीप बाल्ने, भजन–कीर्तन गर्ने, र भोलिपल्ट बिहानै स्नान गरी शतबीज छर्ने प्रचलन रहँदै आएको छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा। ईश्वरीराज लौडारीका अनुसार गत वर्ष जस्तै यस वर्ष पनि ठूलो भीडको सम्भावना भएकाले सुरक्षा, प्रकाश र बसोबासका व्यवस्था व्यापक रूपमा गरिएको छ। “चितवनतर्फ चार स्थानमा हाइमास्ट बत्ती, तनहुँतर्फ सडक बत्ती, बेनी सङ्गममा पाँच अतिरिक्त बत्ती जडान गरेका छौँ,” उहाँले भन्नुभयो ।
स्नानघाटमा दुर्घटना रोक्न दुईवटा र्याफ्टिङ बोट तयारी अवस्थामा राखिएको छ । भरतपुर–१ देवघाटसँग जोड्ने ४४ वर्ष पुरानो झोलुङ्गे पुल जीर्ण भएकाले मङ्सिर २ र ३ गते दुईपाङ्ग्रे सवारी साधन पूर्णरूपमा रोक लगाइएको छ । विकल्पका रूपमा तनहुँ–ठिमुरा पक्की पुल प्रयोग गर्न अनुरोध गरिएको छ । धार्मिक विश्वास अनुसार जाग्राम बसेर बत्ती बलाएपछि चतुर्दशी बिहान नदीमा दीप प्रवाहित गरी शतबीज छर्नाले आध्यात्मिक, आधिभौतिक र आधिदैविक पाप नाश हुने मान्यता छ ।
