आज हरिबोधिनी एकादशी अर्थात तुलसीको विवाह गरी मनाइँदै
काठमाडौं । आज हरिबोधिनी एकादशी अर्थात तुलसीको विवाहको दिन । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज कात्तिक १५ गते शनिवार तुलसी र दामोदरको विवाह गरी मनाइँदैछ ।
असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।
हरिशयनी एकादशीका दिन अर्थात आज घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णु प्रिया भएकाले आजको दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।
कात्तिक महिनाभर सबै देवी–देवता तुलसी मै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ । आज परेको हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठूलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठूली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठूलो एकादशी भनिएको हो ।
हिन्दू धर्ममा तुलसीलाई अत्यन्तै पवित्र र शक्तिशाली बिरुवा मानिन्छ । घरमा तुलसी रोप्दा नकारात्मक उर्जा नष्ट भई सकारात्मक उर्जा प्रवेश गर्छ भन्ने विश्वास छ । तुलसीलाई माता लक्ष्मीको प्रिय वनस्पति मानिन्छ, त्यसैले यसले घरमा शान्ति, समृद्धि र सौभाग्य ल्याउँछ ।
यसै सन्दर्भमा, प्रत्येक वर्ष कार्तिक महिनाको शुक्ल पक्षमा ‘तुलसी विवाह’ मनाइन्छ । आजको दिन भगवान् विष्णुको प्रतीक शालिग्राम र देवी तुलसीको प्रतीक तुलसी बिरुवाबीच पवित्र विवाह सम्पन्न गरिन्छ । यसलाई देवउठाउने एकादशीपछि मनाइने शुभ पर्व पनि भनिन्छ ।
तुलसी विवाह किन गरिन्छ ?
धार्मिक ग्रन्थअनुसार, तुलसी देवी पहिले ‘वृन्दा’ नामकी असाधारण भक्त थिइन् । उनी असुरराज शंखचूडकी पत्नी थिइन् । भगवान् विष्णुले धर्मरक्षाको निम्ति शंखचूडको वध गरेपछि वृन्दा शोकमा परिन् र श्राप दिइन् । पछि भगवान् विष्णुले उनलाई आशीर्वाद दिँदै तुलसी वनस्पतिका रूपमा पुनर्जन्म पाउने वरदान दिए । त्यसैले तुलसीलाई लक्ष्मीजीको स्वरूप र विष्णु भगवानको प्रिय वनस्पति मानिन्छ । तुलसी विवाहको अनुष्ठानले घरमा वैवाहिक सुख, पारिवारिक समृद्धि र शुभ फल ल्याउने विश्वास गरिन्छ ।
