छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण

काठमाडौं । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यतालाई अर्घ्य दिइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरू अहिले छठघाटमै पूजा आराधना गरिरहेका छन् ।व्रतालुहरूले आज पोखरी तथा नदी किनारमा बनाइएका छठघाटमै रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन् । उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा शख्खर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाई व्रतालुले प्रसाद स्वरूप खाने र नुन नखाई एक छाक फलाहार ग्रहण गर्ने गर्छन् ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले परिवारको सुख, कल्याण र समृद्धि हुने विश्वास छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउलगायतको बढी प्रयोग गरिन्छ । छठका लागि तराई मधेश र काठमाण्डौ उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ भएका छन् । पहिले पहिले तराईमा मात्रै सीमित छठ पूजा पछिल्ला वर्षहरूमा काठमाण्डौ उपत्यकासहित पहाडमा पनि धुमधामले मनाउन थालिएको छ ।

यसैबीच यतिखेर लोकगीत सङ्गीतले जनकपुरधामसहित सारा मिथिलाञ्चल छठमय बनेको छ । अहिले गाउँ, सहर, बजार चोक चौराहा सबैतिर छठ गीतको धुनले सारा माहौल छठमय धुनमा झुमेको छ ।
‘केरा जे फरल घउरमे ओहि पर सुगा मंडराय
मारबौ रे सुगबा धनुषसँ सुगा गिरे मुरूझाय
सुगनी जे कानति वियोगसँ दीनानाथ होयब सहाय’
जताततै छठको बाहेक अरू केही कुरा सुनिँदैन अहिले । सांगितिक आनन्दमा झुमेका छन यतिखेर मिथिलाञ्चलबासी:
‘काँचहि बाँसके टोकरिया हो दीनानाथ
टोकरी लचकत जाय
बाटमे पुछए जे बटोहिया
टोकरी केकर जाय
आन्हर होयबे रे बटोहिया
अरघक टोकरी छठि मायके जाय ।’
छठका अवसरमा मैथिल कन्याद्वारा प्रसाद सामग्री बोकी कुनै नदी वा तलाउसम्म जाने बेला गाइने यो प्रचलित लोकगीतमा दीनानाथ र छठीमायलाई सम्बोधन गरिएको छ । यसको अभिप्राय हो– दीनानाथ अर्थात् सूर्यदेव, छठीमाय अर्थात् षष्ठीका देवी दुवैको छठ पर्वमा पूजा हुन्छ । यस पर्वको वैदिक नाम सूर्य–षष्ठी रहेको छ । यसमा मुख्य पूजा सूर्यको हुँदाहुँदै षष्ठीका देवीको पूजा पनि हुन्छ । षष्ठीका देवीको पूजा गौण रूपमा हुन्छ । जस्तो राधाकृष्ण, सीताराम, गौरीशङ्कर एकअर्काका पूरक हुन्छ, त्यस्तै सूर्यषष्ठी पूजा पनि हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर