जीवित देवी श्रीकुमारी पदमा आर्यतारा शाक्य नियुक्त

काठमाडौं । आर्यतारा शाक्यलाई नेपालकी जीवित देवी श्रीकुमारी पदमा नियुक्त गरी मङ्गलबार दशैंको महाअष्टमीका दिन कुमारीघरमा प्रतिस्थापन गरिने भएको छ ।

आठ वर्षपछि काठमाडौंमा जीवित देवी ‘कुमारी’ परिवर्तन गरिएको हो । कुमारीलाई जीवित देवीका रूपमा पुजिन्छ । हालकी कुमारी तृष्णा शाक्यको कुमारी बस्ने औसत उमेर पूरा भएको छ । तृष्णा २०७४ सालमा कुमारीका रूपमा कुमारीघरमा प्रवेश गर्नुभएको हो । उहाँको उमेर १२ वर्ष पूरा भएकाले दसैँको महाअष्टमीका दिन कुमारीघरमा नयाँ कुमारी भित्र्याइने भएको गुठी संस्थान, प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१७ निवासी अनन्त शाक्य र प्रतिस्था शाक्यकी सुपुत्री आर्यतारा शाक्यलाई गुठी संस्थानको मिति २०८२ असोज ९ गतेको निर्णयअनुसार श्रीकुमारी मातामा नियुक्त गरिएको हो ।

गुठी संस्थानका प्रशासक शैलेशराज कुँवरले प्रतिस्थापन प्रक्रियाबारे जानकारी दिँदै नवनियुक्त कुमारीलाई परम्परागत विधिअनुसार जिम्मेवारी हस्तान्तरण सम्पन्न भइसकेको र सम्बन्धित सबैलाई यसबारे आधिकारिक रूपमा सूचित गरिएको बताउनुभयो ।

नेपालमा ‘कुमारी’ प्रथा एक जीवित देवीका रूपमा मानिन्छ, जसलाई ‘तलेजु भवानी’ को अवतारका रूपमा पूजा गरिन्छ । विशेषगरी काठमाडौंको वसन्तपुरस्थित कुमारी घरमा बस्ने रजस्वला नभएकी बालिकालाई राजकीय कुमारी मानिन्छ । दशैं, इन्द्रजात्रालगायतका  चाडपर्वमा नवनियुक्त कुमारीको उपस्थितिलाई विशेष महत्त्व दिइन्छ । कुँवरका अनुसार कुमारी चयन प्रक्रिया अत्यन्तै परम्परागत मानक अनुसार हुने गर्छ । उमेर, स्वास्थ्य, पारिवारिक पृष्ठभूमि, तथा विशेष शारीरिक–आध्यात्मिक लक्षणका आधारमा गुठी संस्थान र सम्बन्धित जातीय समुदायका प्रतिनिधिहरूको सहभागितामा नयाँ कुमारी चयन गरिन्छ ।

नवनियुक्त जीवित देवी आर्यतारा शाक्य अब वसन्तपुरस्थित कुमारीघरमै बस्नुहुने छ । कुमारीलाई धार्मिक कार्य, पूजाआजा र राज्यका प्रमुख चाडपर्वमा विधिपूर्वक उपस्थित गराइने परम्परा छ । वसन्तपुरस्थित कुमारीघरका प्रतिनिधि तथा इन्द्रजात्रा संरक्षण समितिका अध्यक्ष गौतम शाक्यका अनुसार तृष्णा शाक्यलाई बाजागाजाका साथ बिदाइ गरी आर्यतारा शाक्यलाई प्रतिस्थापन गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर