सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज सोमबारदेखि आरम्भ

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (सोमबार) देखि आरम्भ भएको छ ।
पशुपतिनाथ लगायत विभिन्न मठमन्दिरमा पूजा गरी मनाइन सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।
श्राद्धको पहिलो दिन सोमबार बिहानैदेखि काठमाडौंको प्रमुख तीर्थस्थल पशुपतिनाथ क्षेत्रमा आफन्त गुमाएका श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। बागमती नदी किनारमा पुजारीको सहायता लिँदै दिवङ्गत आत्माहरूको शान्तिका लागि तर्पण र पिण्डदान गर्नेहरूको घुइँचो लागेको छ।