आजदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा (येँया) मनाइँदै

काठमाडौं । आजदेखि एक सप्ताह काठमाडौं उपत्यकालगायत देशका अन्य भागमा इन्द्रजात्रा (येँया) मनाइँदै छ । यस अवसरमा हनुमानढोका दरबार क्षेत्रमा रहेको मठमन्दिर विशेष रूपमा सजाइएको छ ।

आज बिहीबारको दिन उपाकु रहेको येँयाको पहिलो दिन भएकाले भित्र राखिएका भगवानका मूर्तिलाई बाहिर ल्याई प्रतिस्थापन गर्ने काम भइरहेको छ । इन्द्रजात्राको दिनदेखि सुरु हुने श्री कुमारी, भैरव र गणेशको रथजात्राका लागि पनि आजैबाट रथको व्यवस्थापन र मर्मतको काम पनि थालिएको छ ।

आज बिहीबार द्वादशीको दिन बिहान १०ः३१ को शुभ साइतमा हनुमानढोकामा इन्द्रध्वजोत्थानपछि येँया सुरु हुनेछ । विशेष गरेर काठमाडौंमा इन्द्रवात्रा भव्य र आकर्षक रूपमा मनाइने गरिन्छ ।

भक्तपुरमा इन्द्रजात्रा सुरु

यसैबीच परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ। यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइएको छ। यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ।

संस्कृतिकर्मी ओम धौभडेलका अनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो। पारिजात खोज्ने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरुले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गरे। जयन्तलाई छुटाउन देवता र दैत्यहरुबीच भएको युद्धमा देवताको जित भएको खुशियालीमा इन्द्रजात्रा मनाउन थालिएको आएको किवंन्दती छ।

पूजाआजासहित आज भक्तपुरको  तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा, इताछेँलगायत टोलमा ‘यम्वो द्यो’ ठड्याइएको छ। यो जात्रा भक्तपुरमा आठ दिनसम्म मनाइन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर