साउन महिनाभर पशुपतिनाथको दर्शन गर्न विशेष व्यवस्था

काठमाडौं । विश्वका सनातनीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा विशेष तयारी भइरहेको छ । श्रावण महिनाभरि शुद्ध आहार गर्ने र सोमबार शिवजीको उपासना एवं व्रत गर्ने परम्परा रहेकाले यो महिनाभर पशुपतिनाथ मन्दिरमा भीड लाग्ने गर्दछ । श्रावणभर पशुपति क्षेत्रमा दर्शन गर्न आउनेबाहेक यज्ञ, मेला, महोत्सव समेत हुने भएकाले पशुपति विकास कोषले विशेष तयारी गरिरहेको छ ।
विशेषगरी श्रावण महिनाको हरेक सोमबार (साउन ५, १२, १९ र २६) को दिन भक्तजनको अत्यधिक भीड लाग्ने भएकाले विकास कोषले स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था, पार्किङ व्यवस्थापन, दर्शनका लागि लाइन व्यवस्थापनलगायतका तयारीहरू सम्पन्न गरिसकेको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिए । नेपालप्रहरी, नेपाली सेना, सशस्त्रप्रहरी, पर्यटक प्रहरी, स्वयंसेवकर स्थानीय संघ–संस्थाहरूसँग समन्वयगर्नेगरि बैठक सम्पन्न भइसकेको छ ।
दर्शनका लागि आएका भक्तजनहरुका सवारी साधनपार्किङका लागि बनकाली, उमाकुण्ड र भण्डारखालतर्फ व्यवस्था मिलाइएको छ भने परिषदभित्रको पार्किङ पनि सञ्चालनमा ल्याइने छ। दर्शनलाई सहज बनाउन लाइन र जुत्ता–चप्पल व्यवस्थापनमा स्थानीय क्लबहरूको सहकार्यमा काम भइरहेको छ । यसैगरी कोषले शारीरिक रुपमा अशक्त, वृद्धवृद्धा, महिलालगायत सबै भक्तजनलाई सहयोग पुगोस् भनेर साउनको सोमबार बिहान ४ बजेदेखि ९ बजेसम्म रिङरोड परिक्रमा गर्ने दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ।
यसैगरी सञ्चारमाध्यमबाट सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउन यसपटक स्थायी मिडिया सेन्टरको पनि स्थापना गरिने कोषका कार्यकारी निर्देशक जोशीले बताए। उक्त केन्द्रबाट पत्रकारहरूले प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।
श्रावणी मेलामा भारतीय तीर्थ यात्रीको उल्लेख्य आगमन हुने भएकाले भेटी व्यवस्थापन र धार्मिक कार्यक्रमको अनुमति प्रक्रियामा पनि कोषले विशेष ध्यान दिएको छ। यस्ता कार्यक्रमहरू बाट कोषलाई आर्थिक आम्दानी हुने भएपनि, यसको मुख्य उद्देश्य धार्मिक र सांस्कृतिक मूल्य मान्यता कायम राख्नु रहेको जोशीले बताए। पशुपतिनाथ मन्दिरमा श्रावण महिनामा हुने श्रावणी मेलालाई केवल धार्मिक उत्सवको रूपमा मात्र नभई, सांस्कृतिक एवं पर्यटन प्रवर्द्धनको अवसरको रूपमा लिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।