त्रिवि सभाको बैठक बसेकोमा स्ववियुका सभापतिहरूको आपत्ति

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरुले विद्यार्थीको प्रतिनिधित्व एवं पूर्वसूचनाविनै त्रिवि सभाको बैठक बसेको भन्दै आपत्ति जनाएका छन् । विभिन्न १७ क्याम्पसका स्ववियु सभापतिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थी अधिकारको सुनिश्चितता गर्दै बौद्धिक स्वतन्त्रता एवं लोकतान्त्रिक प्रक्रियाका लागि निरन्तर आवाज उठाएका सभापतिहरुको अवमूल्यन हुनु पूर्णत: गैरप्राज्ञिक, निरंकुश एवं खेदजनक रहेको जनाएको छ ।

विज्ञप्तिमा यसलाई तत्काल सच्याउनुको कुनै विकल्प नभएको जनाउँदै तत्काल कार्यविधि बनाई खुल्ला प्रतिस्पर्धा वा कुनै विधिको निर्वाचन प्रक्रिया सम्बोधन हुने गरी मात्र आगामी सेनेटको गठन गर्न र तत्पश्चात् मात्र सभाको बैठक राख्न माग गरिएको छ ।

हालसम्म पनि कसले त्रिवि सभामा प्रतिनिधित्व गर्न पाउनेसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नगरिएकाले सो प्रतिनिधित्व सबै निर्वाचित सभापतिहरुको अपनत्व हुनेगरी खुल्ला प्रतिस्पर्धा वा कुनै विधिको निर्वाचनबाट मात्र हुनुपर्ने माग राख्दै आएका छन् ।

‘हालसम्म त्रिवि कार्यकारी परिषदले अपारदर्शी एवं स्वैच्छाचारी ढङ्गले स्ववियु सभापितहरूको सिफारिस गरी कुलपति एवं प्रधानमन्त्रीले मनोनयन गर्ने तथा त्रिवि सभा मात्र नभएर विद्यार्थी कल्याण परिषदमा पनि कुनै नियम, छनोट प्रणाली वा कार्यविधि नबनाई लाखौँ विद्यार्थीहरूको भविष्य निर्धारण गर्ने निकायमा प्रतिनिधित्व गर्ने जस्तो संवेदनशील विषयलाई अनौपचारिक तथा अलोकतान्त्रिक ढंगले गर्नु र गराउनु गैरजिम्मेवार एवं त्रासदीपूर्ण मात्र नभई स्वतः विद्यार्थी एवं निर्वाचित सभापतिहरूको हक, अधिकारको अवमूल्यन भएको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस विषयको सम्बोधनका निम्ति कानुनी तथा आन्दोलनको बाटो अपनाउन बाध्य हुने चेतावनी पनि स्ववियुका सभापतिहरूले दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर