स्वास्थ्य बीमितिले अब रेफरको झन्झट व्यहोर्नु नपर्ने

काठमाडौं ।  स्वास्थ्य बीमा गरेका व्यक्तिले अब तोकिएको ‘प्रथम सेवा बिन्दु’ मै धाउनुपर्ने झन्झट हटेको छ । स्वास्थ्य बीमा बोर्डले आगामी साउन १ गतेदेखि लागू हुने गरी बीमितलाई जुनसुकै नजिकको सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने व्यवस्था गरेको छ ।

तर बीमा गरेको मितिबाट आफूले पहिला तोकेको प्रथम सेवा लिनका लागि भने सरकारी स्वास्थ्य संस्थामा नै जानुपर्छ । स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ मा भएको संशोधनअनुसार बीमितलाई तोकिएको एक मात्र प्रथम सेवा बिन्दुबाट सेवा लिनुपर्ने बाध्यता हटाइएको छ ।

बीमा अवधि भरिमा देशभरि जहाँ भए पनि नजिकको अनुमतिप्राप्त सरकारी स्वास्थ्य सेवा प्रदायक संस्थाबाटै सेवा लिन सकिनेछ । बीमितलाई निरन्तर गुनासो आइरहने र सरलरूपमा सेवा उपभोग गर्न सहज वातावरण बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लले बताए ।

‘प्रथम बिन्दु सेवा एकै ठाँउमा हुँदा नागरिकले रेफर लिन विभिन्न झन्झट भोग्नुपरेको बीमितको गुनासो थियो’, मल्लले भने, ‘अब देशको जुनसुकै प्रथम सेवा बिन्दुबाट बीमितिले सेवा लिन सक्नेछन् ।’

मल्लले थप स्पष्ट पार्दै भने, ‘इलामबाट स्वास्थ्य बीमा गरेका व्यक्तिले त्यहीबाट प्रथम बिन्दुको सेवा लिएपछि मात्रै रेफर हुने व्यवस्था थियो । तर इलाममा बीमा गरेको व्यक्तिले काठमाडौं पुगे पनि त्यहाँको अनुमतिप्राप्त संस्थाबाट सेवा लिन सक्नेछन् ।’ अब बीमितले स्वास्थ्य बीमा बोर्डबाट ‘प्रथम सेवा बिन्दु’को रूपमा अनुमति पाएका जुनसुकै सरकारी स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्न सक्नेछन् । सेवाग्राहीको समय, पैसा र झन्झट कम हुने विश्वास गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर