मौसम परिवर्तनसँगै कोरोनाका बिरामी देखिन थाल्यो

काठमाडौं ।  मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लुजस्ता सङ्क्रमण देखिन थालेको हो ।

इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशन डा. चन्द्रभाल झाले सीमा नाकामा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिले त्यो पनि घटेको गएको बताए । उनका अनुसार नेपाल–भारत सीमाको कञ्चनपुरमा भारतबाट आउने केहीमा सङ्क्रमण देखिएका छन् ।

उनका अनुसार अहिलेसम्म (पुस १७ गते यता) १६० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो सात दिनमा ३० जना र २४ घन्टामा पाँच जनामा सङ्क्रमण देखिएको उनले बताए । सबैभन्दा बढी बागमती प्रदेशमा १२९, सुदूरपश्चिम प्रदेशमा १७, मधेश प्रदेशमा पाँच, कोशी तथा गण्डकी र लुम्बनी प्रदेशमा समान तीन÷तीन जनामा सङक्रमण देखिएको छ ।

एन्टिजेन पठाइयो

निर्देशक डा. झाले कोरोना भाइरसको सङक्रमण देखिएका ठाउँमा एन्टिजेन पाइसकेको समेत जानकारी दिए । उनका अनुसार सीमा नाकामा परीक्षणका लागि अहिलेसम्म ६४० थान एन्टिजेन पाइसकेको छ । उहाँले सङक्रमणको जोखिमलाई ध्यान दिँदै थप एन्टिजेन खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलाका निर्देशक डा. युवानिधि बसौलाले फाटफुट्ट बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको बताउँछन् । “मौसममा आएको परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरोका बिरामी आउने गरेका छन्”, उनले भने । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा सङ्क्रमण देखिएका कारणले नेपालमा पनि देखिएको बताए ।

“भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट बिरामी देखिएका हुन्”, उनले भने, “मौसम परिवर्तनसँगै फ्लुका बिरामी देखिएका हुन् ।” मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर