नेपाल–भारत नाका जमुनाहामा एक जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । भारतमा कोरोना बिरामीहरु बढ्दै गएपछि नेपालगन्जस्थित नेपाल–भारत नाका जमुनाहामा सतर्कता अपनाउन सुरु गरिएको छ । भारतबाट फर्किनेहरुमा कोरोना सङ्क्रमण देखिन थालेपछि नाकामा शङ्कास्पदहरुको कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले नाकामा भारतबाट फर्किने नेपाली र नेपाल आउने भारतीयमाथि निगरानी बढाइएको जनाउँदै शङ्का लागेकाहरुको कोरोना परीक्षण सुरु गरिएको हो ।
सोही क्रममा शङ्का लागेर परीक्षण गर्दा भारतबाट फर्केका एकजना नेपालीमा कोरोना भेटिएको छ । भारतको देहरादुनबाट आएका बर्दियाका २६ वर्षीय महेशकुमार थारूमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी श्रेष्ठले भारतबाट आएका थारुको आरडीटी जाँच गर्दा कोरोना देखिएको बताउनुभयो । कोरोना देखिए पनि थारुमा त्यसको कुनै लक्षण नदेखिएको श्रेष्ठले बताए । उनका अनुसार लक्षण देखिएमा भेरी अस्पतालमा लगेर पिसिआर गर्ने गरिन्छ । थारूलाई मास्क दिएर घर पठाइएको छ । भारतमा कोरोना देखिएपछि नेपालगन्ज नाकामा भारतबाट आएका शङ्कास्पद व्यक्तिको कोरोना जाँच सुरु गरिएकाले थारुमा कोरोना पुष्टि भएको हो ।