१२ कक्षा पास गर्नेबित्तिकै एनओसी दिने व्यवस्था रोक्नुपर्छ : शिक्षामन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यार्थीलाई डिप्लोमा उत्तीर्ण नगरी एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) दिन नहुने बताएका छन्। उनले कक्षा १२ पास गर्नेबित्तिकै विद्यार्थीलाई कुनै पनि हालतमा देशबाहिर पठाउनु नहुनेमा जोड दिएका छन्।
सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टतासम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री पन्तले सबै राजनीतिक दलहरू एकमत भएर यसमा बोल्ड निर्णय गर्नुपर्ने बताए । डिप्लोमा नगरी विदेश अध्ययन गर्न जाने कुराले देशको भविष्य अन्धकार हुँदै गएको उनले औंल्याए।
मन्त्री पन्तले भने, “साँच्चै भन्नुहुन्छ भने मेरो मनमा लागेको कुरा के हो भने एउटा राष्ट्रिय बहस होस्, प्लस टु पास गरेको विद्यार्थीलाई कुनै पनि हालतमा देशबाहिर पठाउनु हुँदैन भन्ने मेरो मान्यता बलियो हुँदै गइरहेको छ। न उमेर पुगेको हुन्छ, भन्न मिल्छ कि मिल्दैन, कतिपय कन्सल्टेन्सीहरूले १०, १२, १५ लाख लिएर कोरियामा जानसाथ यति लाखको जागिर पाइन्छ भनेर पठाइदिएका छन्। ती युनिभर्सिटीहरू राम्रा होइनन् भन्ने छ। रोक्न खोज्यो, सकिएन। यो अवस्थामा हाम्रो उच्च शिक्षा छ।”
उनले थपे, “बैंकबाट हेर्दा १ खर्ब केही अर्ब पुग्ला तर अवैध रूपमा उनीहरूले लैजाने पैसाको हिसाब हेर्दा २ खर्ब गइरहेको छ। सकिन्छ-सकिँदैन तर राष्ट्रले एकमत भएर बोल्ड निर्णय गर्नुपर्छ। एक्स्ट्रा ट्यालेन्ट छ, राम्रो युनिभर्सिटीबाट छात्रवृत्ति पाउँछ, प्लस टु गरे पनि पठाइदिऊँ। तर होइन भने नपठाऔँ। १ करोड खर्च गर्नेलाई ट्रम्पले बोरा बोकाएर पठाएको त देखिहाल्नुभयो। सम्भव भएसम्म राजनीतिक दलहरूले एकमत भएर निर्णय गरेन भने एउटा मन्त्रीले मात्रै सक्दैन। यो प्लस टु पास गर्नासाथ विदेश जाने कुरा रोक्न। होइन भने देशको भविष्य ध्यानमा राख्ने हो भने कमसेकम डिप्लोमा पास नगरी एनओसी दिने कुरा रोक्नुपर्छ। अहिलेको परिस्थितिले त्यही देखाउँछ।”
मन्त्री पन्तले विदेश मोहलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए। मुलुक भित्रभित्रै खोक्रो बनिरहेको र त्यसलाई सुधार गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयको रहेको उनले बताए। विद्यार्थी पलायन हुनबाट रोक्नका लागि के गर्ने भन्नेमा आफू चिन्तित रहेको र राति निद्रासमेत नलाग्ने गरेको उनले उल्लेख गरे।