रातो मत्स्येन्द्रनाथको भोटोजात्रा सम्पन्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटोजात्रा अवलोकन गरेका छन् । हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा रातो मत्स्येन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । त्यस अवसरमा उनले रातो मत्स्येन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । राष्ट्रपति पौडेलले जीवितदेवी कुमारीको समेत दर्शन गरे ।
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथलाई पुल्चोकबाट गा:वहाल, मङ्गलबजार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार यस वर्षको रथयात्रासमेत सम्पन्न भएको छ । गत वैशाख १५ गते रातो मत्स्येन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहण गरेसँगै जात्रा सुरु भएको थियो ।
यस जात्रालाई नेपालको सबैभन्दा लामो जात्रा मानिन्छ । मच्छिन्द्रबहालस्थित मन्दिरबाट मूर्ति बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । करिब एक हजार ६०० वर्षअघि सुरु भएको मत्स्येन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौँथीसम्म चल्छ । भोटो देखाएकै दिन मूर्तिलाई खटमा राखी बुङ्मती पु-याउनुपर्ने परम्पराअनुसार आजै त्यहाँ पु-याइने ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले बताए।