हलचोक आकाश भैरवको १२ बर्से जात्रा विधिवत् सम्पन्न

काठमाडौं । श्री हलचोक आकाश भैरवको १२ बर्से जात्रा शनिबार सम्पन्न भएको छ । अन्तिम दिन भएको जात्रामा हलचोकस्थित आगमघरबाट आकाश भैरव र अन्य देव गणलाई हलचोकको पुतुवार बस्तीमा घुमाइएको थियो । त्यसपछि पञ्चबलि दिएर जात्रा बिसर्जन गरिएको थियो । हलचोक आकाश भैरव समाजका अध्यक्ष शेरबहादुर पुतवारले एक महिनासम्म चलेको १२ बर्से जात्रामा तीन पटक पञ्चबलि दिने प्रावधान रहेको बताए ।
पहिलो दिन वैशाख १ गते हलचोकमै पञ्चबलिसहित पूजा गरी जात्रा सुरु गरिएको थियो । पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले आकाश भैरवका साथै अन्य १० देवगणको दर्शन गरेका थिए । दोस्रो दिन ताम्सिपाखाबाट हनुमानढोकामा लगेर कालभैरव मन्दिरअगाडि इन्द्रजात्रामा यःसिं उठाउने स्थानमा पञ्चबलिसहित पूजा गरिएको थियो । १२ बर्से जात्रामा एक महिनासम्म हरेक दिन काठमाडौंका विभिन्न स्थानमा नाच प्रदर्शन गरिएको थियो । इन्द्रजात्रामा श्री आकाश भैरव, चण्डी र कुमारीले काठमाडौंमा आएर नाच्ने प्रचलन रहे जस्तै १२ वर्षमा पनि यस नाचलाई देवगणसहित काठमाडौंका विभिन्न स्थानमा नचाउने परम्परा रहेको छ ।
तेस्रो दिनदेखि काठमाडौंका विभिन्न स्थानमा श्री आकाशभैरव नाच नचाउने गरिन्छ । यस पटक काठमाडौंको केलटोल, मरु, खुसिबुँ, हनुमानढोका, असन डबली, दमाईं टोल, वक्त, चिकंअत, न्यतपाःच्व, पहिको त्वाः, ब्रह्मटोल, ताम्सिपाखा, बुराख्यः, बहति (सोह्रखुट्टे), मखन, न्हयोखा, झोछेँ, जैसीदेवल, ढल्को, ताम्सिाखा, डल्लु, डल्लु चौतारी, सिद्धार्थ चोकमा आकाश भैरव नाच प्रदर्शन गरिएको थियो । यी हरेक स्थानमा श्री आकाश भैरव र अन्य देवगणलाई २५ भाग तयार गरी पूजाका सामग्री चढाउनुका साथै बाजागाजासहित स्वागत पनि गरिएको थियो ।