भक्तपुर अस्पतालमा पहिलो पटक सिटी स्क्यान मेसिन सञ्चालनमा

काठमाडौं ।  वीर अस्पतालपछिको दोस्रो ठुलो र पुरानो भक्तपुर अस्पतालमा पहिलो पटक सिटी स्क्यान मेसिन सञ्चालनमा आएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आज आइतबार सिटी स्क्यान मेसिनको औपचारिक सञ्चालनको शुभारम्भ गरेका छन् ।

सिटी स्क्यान सेवा सुरु भएपछि भक्तपुर अस्पतालमा आउने सेवाग्राहीलाई उक्त सेवा निल अन्यत्र महँगा अस्पतालमा धाउनु नपर्ने भएको छ । पछिल्लो समय भक्तपुर अस्पताल अहिले सुविधा सम्पन्न मात्रै भएको छैन, सेवा र गुणस्तरका हिसाबमा देशकै उत्कृष्ट सरकारी अस्पताल घोषित भएको छ ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले चन्द्रलोक डिस्पेन्सरीका नाममा स्थापना गरेको सो अस्पताल लामो समयदेखि रिफर सेन्टरकै रूपमा थियो । कारण पूर्णमात्रामा विशेषज्ञ र स्वास्थ्य उपकरण नरहनु हो । बागमती प्रदेश सरकारद्वारा सञ्चालित भक्तपुर अस्पताल जनगुनासोलाई दृष्टिगत गरेर चिकित्सक, स्वास्थ्यकर्मी र अन्य सहयोगी कर्मचारीको अथक् परिश्रमले अहिले सुविधा सम्पन्न भएको हो ।

सिटी स्क्यान मेसिन बागमती प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको हो । अस्पतालमा अहिले दैनिक १२ सयभन्दा बढी बिरामीले सेवा प्राप्त गरिरहेको अस्पताल प्रशासनले जनाएको छ । सेवा प्रवाहमा कुनै कञ्जुस्याइँ नगर्न र आवश्यक जनशक्ति तथा सामग्रीको थप व्यवस्था गर्न प्रदेश सरकार तयार रहेको भन्दै मन्त्री थापाले भने, “ढुक्कले भएर काम गर्नुहोस्, बिरामीको सेवा गर्नुहोस् । आवश्यक जनशक्ति र सामग्रीको व्यवस्थापन र परिपूर्ति प्रदेश सरकारले गर्छ ।”

यस्तै प्रदेश सांसद सुरेश श्रेष्ठले सहज र सुलभ सेवा पाउनु आम नागरिक अधिकार भएकाले दत्तचित्त भएर सेवामा खटिन सम्बन्धित सबैलाई आग्रह गरे । स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले ८ करोडको बजेटमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको बताइन् । अस्पतालमा थप एक करोड १० लाख मूल्यको मेमोग्राम मेसिन ल्याउने तयारी गरिरहेको उनको भनाइ छ । उक्त मेसिन जडानपछि महिलालाई स्तन क्यान्सरको पहिचान एवं स्क्रिनिङमा सजिलो हुने उनले उल्लेख गरिन् । आजदेखि सञ्चालनमा आएको सिटी स्क्यान मेसिनमा आगामी १० वर्षसम्म कुनै समस्या नआउने र आइहाले पनि आपूर्तिकर्ता कम्पनीले नै मर्मत–सम्भारगरिदिने सम्झौतामा उल्लेख गरिएको छ ।

अस्पतालमा १० शय्याको डायलासिस कक्ष पनि तयार पारिएको छ । डायलासिस मेसिन खरिदमा केन्द्र सरकारको अपेक्षा गर्दै दैनिक सय बढी बिरामीलाई सेवा दिने अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टले भक्तपुर अस्पतालले विशेषज्ञ सेवासहितको गुणस्तरीय सेवा दिन मात्रै सफल भएको नभएर देशकै उत्कृष्ट अस्पताल बन्न कुनै कसुर बाँकी नराखेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर