रातो मत्स्येन्द्रनाथको भोटो जात्रा जेठ १८ गते देखाइने

काठमाडौं । ललितपुरको रातो मत्स्येन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मत्स्येन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।
रातो मत्स्येन्द्रनाथको रथ यही जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लैजाने भएको छ । लगनखेलको थती टोलबाट रथ तान्न साइत हेर्नु पर्ने भएकोले आज मंगलबजारको सोह्रखुट्टेमा बसेर ज्योतिषहरुले निकालेको साइतअनुसार रथ तान्ने उत्तम दिन जेठ १५ गते रहेको ज्योतिष दैवज्ञ किर्तिकिरण जोशीले बताए ।
रथलाई जावलाखेल पुर्याएको चार दिनपछि अर्थात जेठ १८ गते भोटो देखाउने जात्राको साइत जुरेको हो । वर्षा र सहकालको देवताका रुपमा रहेको ललितपुरको रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा सकिएपछि बाजागाजाका साथ बुङ्गमती लगिएपछि यस बर्षको जात्रा सम्पन्न भएको मानिन्छ ।