गुणस्तरीय शिक्षामा पहुँच : युएसएआइडीको ११ अर्ब सहयोग

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा गरेको छ । युएसएआइडीले विशेषतः सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित हुने गरी गुणस्तरीय शिक्षामा नेपालका बालबालिकाको पहुँच विस्तार गर्न पाँच वर्षको अवधिमा करिब ११ अर्ब रुपैयाँसम्मको सहायता प्रदान गर्ने जनाएको हो ।

काठमाडौंमा आज आइतबार आयोजित एक कार्यक्रममा युएसएआइडीको एसिया ब्युरो हेर्ने वरिष्ठ उपसहायक प्रमुख जेना सलाहीले उक्त सहायता रकम कोषको उपलब्धतामाथि निर्भर रहने बताए । यस सहायता विस्तारले नेपालका विकास लक्ष्यहरूप्रति नेपाल र अमेरिकाको साझा समर्पणलाई पुनः पुष्टि गर्दै दुई देशबिच विद्यमान साझेदारीलाई थप बलियो बनाएको उनको भनाइ छ ।

कक्षा १ देखि ३ सम्मका बालबालिकाको सिकाइ प्रतिफलमा सुधार ल्याउन युएसएआइडीले आगामी पाँच वर्ष नेपालका सात वटै प्रदेशका स्थानीय सरकारसँग सहकार्य गर्नेछ । विविध पृष्ठभूमि र क्षमताका विद्यार्थीसँग काम गर्न शिक्षकशिक्षिका अझ सुसज्जित होऊन भन्ने हेतु शिक्षक तालिमलाई परिमार्जन गर्न युएसएआइडीले स्थानीय सरकारहरूसँग सहकार्य गर्नेछ । त्यसका साथै युएसएआइडीले सीमान्तकृत समुदायमा रहेका न्यून उपलब्धिमूलक विद्यालयमा पाठ्यपुस्तक, शौचालय, पुस्तक कुना र कक्षाकोठा सुधारलगायतका विविध आवश्यकतामा सहयोग पुर्‍याउने प्रत्यक्ष अनुदान पनि उपलब्ध गराउने जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर