हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा पूजाअर्चना

काठमाडौं ।  कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन शुक्रबार उपत्यकाका चार नारायण, बुढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनहरूले भगवान् नारायणको पूजाअर्चना गरेका छन् ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको लाम लागेको हो । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनले पूजाअर्चान गरे । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढाटाढाबाट पनि भक्तजन सवारीसाधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउँछन् ।

चार नारायणको दर्शन गर्न नसक्नेले काठमाडौँको उत्तरी भेगस्थित बुढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बुढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठुला पत्थरमा स्थापना गरिएको छ । मन्दिरमा राति १ बजेदेखि नै भक्तजनको आगमन सुरु भएको महन्त निगमानन्द स्वामीले  जानकारी दिनुभयो । भक्तजन आउन थालेपछि बुढानीलकण्ठ नारायणस्थान दशनामी मठले राति १:३० बजेदेखि मन्दिरको ढोका दर्शनार्थीका लागि खुला गरेको थियो ।

यसै गरी नारायणहिटी दरबार क्षेत्रस्थित चतुव्र्युह नारायण मन्दिर, हाँडीगाउँ क्षेत्रका नारायण मन्दिर, हनुमानढोका दरबार क्षेत्रका नारायण मन्दिर र पशुपति क्षेत्रका नारायण मन्दिर, गोकर्णेश्वर नगरपालिकाको नारायणटारस्थित नारायण मन्दिरलगायत काठमाडौँ उपत्यका र उपत्यका बाहिरका नारायण मन्दिरमा पनि पूजा, आराधना एवं दर्शनका लागि भक्तजनको भिड लागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर