धार्मिक आस्था बोकेको रसुवाको भैरव कुण्ड

काठमाडौं ।  रसुवाको गोसाइँकुण्ड क्षेत्रमा अवस्थित भैरव कुण्ड अन्य कुण्डभन्दा फरक धार्मिक मान्यता, किंवदन्ती र जनविश्वासका कारण विशिष्ट पहिचान बोकेको तीर्थस्थल हो । गोसाइँ कुण्ड क्षेत्रमा रहेका दर्जनौँ साना–ठूला तालतलैयामध्ये भैरव कुण्डलाई भय र निषेधसँग जोडिएको कुण्डका रूपमा लिने गरिन्छ ।

समुद्री सतहबाट उच्च हिमाली क्षेत्रमा रहेको मुख्य गोसाइँ कुण्ड (छोकर) भन्दा तल र सरस्वतीकुण्ड (वाङ्लत्ती) भन्दा माथि भैरव कुण्ड अवस्थित छ। स्थानीय तामाङ समुदायले यसलाई ‘छोना’ अर्थात् कालो कुण्डका रूपमा चिन्ने गरेका छन् ।

गोसाइँ कुण्डलाई शुद्धता, जीवन र आशीर्वादको प्रतीक मानिन्छ भने भैरव कुण्डलाई भय र निषेधको प्रतीकका रूपमा बुझिन्छ । यही धार्मिक मान्यताका कारण गोसाइँ कुण्ड दर्शन गर्न पुग्ने तीर्थयात्री भैरवकुण्डमा स्नान गर्दैनन् । गोसाइँ कुण्डको परिक्रमा गरी फर्किँदा भैरव कुण्डतर्फ फर्केर हेर्नसमेत नहुने जनविश्वास छ ।

गोसाइँ कुण्ड गाउँपालिका–५ की कार्यवाहक वडाध्यक्ष डोल्मा याङजेन तामाङका अनुसार गोसाइँ कुण्डमा श्रद्धापूर्वक स्नान गर्ने तीर्थयात्री भैरव कुण्डमा भने नहेरी र नस्नाई अगाडि बढ्ने परम्परा छ । उक्त परम्परालाई निरन्तरता दिँदै आगन्तुकलाई जानकारी दिन सुरक्षित पदमार्ग निर्माण र सूचना पाटी राख्ने योजना वडा कार्यालयले बनाएको उहाँले बताउनुभयो ।

भैरव कुण्डको उत्पत्तिसँग हिन्दू र बौद्ध धर्मका विभिन्न पौराणिक कथा तथा जनश्रुति जोडिएका छन् । हिन्दू धार्मिक मान्यताअनुसार सत्ययुगमा भगवान् शिवले ब्रह्माको शिर छेदन गरेपछि लागेको दोष निवारण गर्न तथा शारीरिक कष्ट शान्त पार्न गोसाइँ कुण्डभन्दा तल यो कुण्ड निर्माण गरी तपस्या गर्नुभएको थियो ।

अर्को कथनअनुसार देवता र दानवले समुद्र मन्थन गर्दा निस्किएको विष सृष्टिको रक्षाका लागि महादेवले पिउनु भएको थियो । घाँटीमा अड्किएको विषको डाह सहन नसकी महादेवको शरीरबाट बगेको पसिना जमेर भैरव कुण्ड बनेको विश्वास गरिन्छ । विषयुक्त पसिनाबाट कुण्ड बनेको मान्यताका कारण यहाँ विषालु नागको बास रहेको र यसको पानी अशुद्ध हुने जनविश्वास छ ।

बौद्ध धर्मसँग सम्बन्धित जनश्रुतिअनुसार भने महादेवका दाजु ‘छोना’ ले भैरव कुण्ड निर्माण गरेका हुन् । रसुवाका लेखक फुर्पा तामाङद्वारा लिखित ‘जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म–संस्कृति’ पुस्तकमा उल्लेख भएअनुसार स्वच्छ बासस्थानको खोजीमा निस्किएका दाजुभाइमध्ये दाजु छोनाले उपयुक्त स्थान भेटेपछि भाइलाई बिर्सिए । दाजुको व्यवहारबाट क्रोधित महादेवले ‘मन कालो भएकाले तिमीले बनाएको कुण्ड पनि कालो होस्’ भनी श्राप दिएको कथन छ ।

त्यही श्रापका कारण छोनाले बनाएको कुण्ड कालो कुण्ड अर्थात् भैरवकुण्ड र महादेवले बनाएको कुण्ड सेतोकुण्ड अर्थात् गोसाइँ कुण्ड कहलिएको जनविश्वास रहेको पुस्तकमा उल्लेख छ ।

धुन्चेका स्थानीय तथा लामा गुरु रिन्जेन घलेका अनुसार बौद्ध र तामाङ परम्परामा गोसाइँ कुण्डलाई ‘छोकर’ अर्थात् शुद्ध सेतो कुण्ड र भैरव कुण्डलाई ‘छोना’ अर्थात् कालो कुण्डका रूपमा बुझिन्छ । भैरव कुण्डमा क्रोध र विसर्जनको ऊर्जा रहने धार्मिक विश्वासका कारण त्यहाँ स्नान गर्न र फर्केर हेर्नसमेत निषेध गरिएको उहाँ बताउनुहुन्छ । यस्तो मान्यताले प्रकृति र धार्मिक आस्थाप्रतिको अनुशासनलाई पनि झल्काउने उहाँको भनाइ छ ।

भैरव कुण्डसँग तामाङ समुदायको गोले थरका मानिसको विशिष्ट कुल परम्परा पनि जोडिएको छ । पुर्ख्यौली कथनअनुसार प्राचीन कालमा गोले थरका एक झाँक्री श्रीमतीसहित गोसाइँ कुण्ड क्षेत्रमा पुगेका थिए । भैरव कुण्डमा रहेको विषालु नागलाई वशमा पार्ने उद्देश्यले उनले आफू कुण्डभित्र रहँदासम्म श्रीमतीलाई निरन्तर ढ्याङ्ग्रो बजाउन र अक्षता छरिरहन आग्रह गरे । त्यसपछि उनी नागसँग सङ्घर्ष गर्न कुण्डभित्र पसे ।

लामो सङ्घर्षपछि नागलाई पराजित गरेर झाँक्री सतहमा आउन लाग्दा कुण्डको भयावह अवस्था देखेर उनकी श्रीमती आत्तिइन् । उनले ढ्याङ्ग्रो बजाउन र अक्षता छर्न छाडेर त्यहाँबाट भागेपछि झाँक्रीको शक्ति कमजोर भएको र नागले बेरेर उनको ज्यान लिएको किंवदन्ती छ । यही घटनाका कारण गोले थरका मानिसले आजसम्म भैरव कुण्ड र कतिपय अवस्थामा गोसाइँ कुण्डसमेत नजाने परम्परा कायम राखेको जनविश्वास छ ।

नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङका अनुसार गोले थरका मानिसले पुर्ख्यौली कुल परम्परा मान्दै भैरव कुण्ड नजाने चलन अझै कायम राखेका छन् । यस्ता मौखिक इतिहास, धार्मिक विश्वास र अमूर्त सांस्कृतिक सम्पदाको दस्तावेजीकरण तथा संरक्षण गर्न सके रसुवाको धार्मिक र अध्ययन पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने उहाँको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर