आज कुकुर तिहार र लक्ष्मीपूजा पर्व मनाइँदै

काठमाडौं । तिहारको दोस्रो दिन आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ । तिथिको घटबढका कारण दिउँसो चतुर्दशी तिथि र साझ औँसी तिथि लाग्ने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शास्त्रसम्मत रूपमा एकै दिन यी दुवै पर्व मनाउने निर्णय गरेको हो । बिहान यमराजको दूतका रूपमा कुकुरको पूजा गरिँदै छ । साँझ धनधान्यकी देवी महालक्ष्मीको आराधना गरी दीपावली गरिने छ ।

कुकुरलाई केवल एउटा पशुका रूपमा मात्र नहेरिएर यमराजको दूत र भैरवको वाहनका रूपमा पूजा गरिन्छ । पौराणिक मान्यता अनुसार यमलोकको ढोकामा चार वटा आँखा भएका ‘श्यामा’ र ‘सबला’ नामका दुई वटा कुकुरले पहरा दिइरहेका हुन्छन् ।

तिनीहरूले नै मानिसको मृत्युको समय नजिकिँदा यमराजलाई खबर गर्छन् भन्ने विश्वास गरिन्छ ।  कुकुरलाई प्रसन्न राख्दा यमलोक जाँदा कडा सजाय भोग्नु पर्दैन र मृत्युको भय हुँदैन भन्ने धार्मिक विश्वासका साथ कुकुरको पूजा गरिएको हो । महाभारत कथा अनुसार जब पाँच पाण्डव र द्रौपदी स्वर्गारोहणका लागि हिमालयतर्फ प्रस्थान गर्छन्, बाटोमा एक एक गरी सबै ढल्छन् । अन्तिममा धर्मराज युधिष्ठिर र उहाँसँगै हिँडेको एउटा कुकुर मात्र जीवित रहन्छन् । स्वर्गको ढोकामा पुगेपछि देवराज इन्द्रले युधिष्ठिरलाई मात्र स्वर्गभित्र छिर्न अनुमति दिई कुकुरलाई बाहिरै छोड्न भन्नुहुन्छ तर युधिष्ठिरले आफ्नो सङ्कटको साथीलाई छोडेर आफू मात्र स्वर्ग नजाने अडान लिनुहुन्छ । युधिष्ठिरको यो धर्म र वफादारिता देखेर त्यो कुकुर वास्तविक रूपमा प्रकट हुन्छ, जो स्वयं ‘धर्मराज’ (यमराज) हुनुहुन्थ्यो ।

त्यस्तै तिहारको सबैभन्दा उज्यालो पक्ष लक्ष्मीपूजा हो । कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ भनिन्छ । पौराणिक कालमा जब देवता र असुर मिलेर अमृत प्राप्तिका लागि क्षीरसागरमा समुद्र मन्थन गरेका थिए, त्यस क्रममा कात्तिक कृष्ण औँसीकै दिन समुद्रबाट जगत्जननी देवी महालक्ष्मी प्रकट हुनुभयो । लक्ष्मी प्रकट भएपछि देवताले उहाँको स्वागतमा दीप प्रज्वलन गरी पूजाआजा गरेका थिए । त्यसैले हरेक वर्ष यो दिन लक्ष्मीको जन्मोत्सव र आगमनको खुसियालीमा दीपावली गरिन्छ ।

पौराणिक कथा अनुसार भगवान् विष्णुले वामन अवतार लिएर दानवीर राजा बलिलाई तीन पाइला भूमि माग्ने क्रममा पाताल लोक पठाउनुभएको थियो । राजा बलिको दानशीलताबाट प्रसन्न भई विष्णुले उनलाई पातालको राज्य सुम्पिनुभयो । सोही समयमा लक्ष्मीले बलि राजालाई आफ्नो भाइ बनाइ हातमा रक्षा बन्धन (धागो) बाँधिदिनुभयो र त्यसको बदलामा बलि राजाको कडा पहरामा रहेका आफ्ना पति नारायण (विष्णु) लाई मुक्त गराउनुभयो । बलि राजाको राज्यमा लक्ष्मीको आशीर्वादले सधैँ धनधान्य भरिपूर्ण रहने वरदान प्राप्त भएको खुसियालीमा पनि यो रात घर घरमा दीप प्रज्वलन गरी उज्यालो बनाउने गरिन्छ ।

पञ्चाङ्ग समितिका अनुसार कात्तिक २३ गते  गाईतिहार, कात्तिक २४ गते गोरुतिहार, गोवर्धन पूजा र म्हपूजा गरिने छ । यसै दिनदेखि नेपाल संवत् ११४७ प्रारम्भ हुने छ । तिहारको अन्तिम दिन कात्तिक २५ गते भाइतिहार (भाइटीका) परेको छ । सो दिन भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेट उत्तम मानिएको छ ।

नरक चतुर्दशी धार्मिक, आध्यात्मिक र दार्शनिक दृष्टिले विशेष महत्व

तिहारअन्तर्गत यमपञ्चकको एक महत्वपूर्ण दिन नरक चतुर्दशी धार्मिक, आध्यात्मिक र दार्शनिक दृष्टिले विशेष महत्व बोकेको पर्वका रूपमा मनाइन्छ। यस दिन स्नान, तर्पण तथा यमदीप दान गर्ने धार्मिक परम्परा रहेको छ।

सनातन हिन्दु दर्शनमा मानिसले गरेको कर्मअनुसार मृत्युपछि स्वर्ग वा नर्क प्राप्त हुने विश्वास रहिआएको छ। सत्कर्म गर्ने मानिस स्वर्ग जाने र नराम्रो कर्म गर्नेले नर्कको दुःख भोग्नुपर्ने धार्मिक मान्यता छ। यही मान्यतालाई स्मरण गराउने दिनका रूपमा नरक चतुर्दशीलाई लिने गरिएको छ।

धार्मिक विश्वासअनुसार वैतरणी नदी पार गरेपछि मात्र स्वर्ग पुग्न सकिन्छ। स्वर्ग र नर्कलाई एकअर्कासँग जोडेर हेर्ने सनातन दर्शनमा नर्कबिनाको स्वर्गको अस्तित्व र महत्वबारे पनि दार्शनिक व्याख्या गरिएको छ। नरक चतुर्दशीले मानिसलाई आफ्नो कर्म र त्यसको परिणामबारे सोच्न प्रेरित गर्ने मान्यता रहेको छ।

यस दिन बिहानै अरुणोदयकालमा नदी, तलाउ वा अन्य जलाशयमा गई स्नान तथा तर्पण गर्ने चलन छ। तिलको तेल शरीरमा दलेर स्नान गर्ने परम्परालाई नरके नुहाउने भनिन्छ। कार्तिक महिनाको चिसो मौसममा स्नान गरेपछि तिलका झिँगटा बालेर ताप्ने प्रचलनसमेत रहेको छ।

त्यसैगरी, नरक चतुर्दशीका दिन दक्षिण दिशातर्फ फर्काएर यमदीप बाल्ने र उक्त दीप नदी वा जलाशयमा बगाउने धार्मिक परम्परा छ। यसरी दीप बालेर बगाउँदा मृत्युपछि नर्कको यातना भोग्न नपर्ने धार्मिक विश्वास रहिआएको छ। दीप बगाउने यस कार्यलाई नरके बगाउने भनिन्छ।

नरक चतुर्दशी केवल धार्मिक विधि र परम्परामा सीमित पर्व नभई मानिसलाई असल कर्म गर्न, गलत कार्यबाट टाढा रहन र जीवनलाई सत्मार्गमा अघि बढाउन प्रेरित गर्ने दार्शनिक सन्देश बोकेको पर्वका रूपमा पनि लिइन्छ। सत्कर्मबाट जीवनलाई सार्थक बनाउनुपर्ने र आफ्ना कर्मप्रति जिम्मेवार हुनुपर्ने सन्देश यस पर्वले दिने गरेको छ।

नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालले तिहारअन्तर्गत नरक चतुर्दशीको धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक महत्व रहेको बताएका छन्।

उनका अनुसार नरक चतुर्दशीका दिन चन्द्रोदयको समयमा स्नान गर्ने धार्मिक परम्परा छ। चतुर्दशीमा सूर्यभन्दा पहिले चन्द्रमा उदाउने भएकाले बिहान चन्द्रोदयको समयमा स्नान गरी तीर्थस्थलमा पूजा—अर्चना गर्ने चलन रहेको उनले बताए।

नरक चतुर्दशीमा स्नानसँगै दीपदान गर्नुको पनि विशेष महत्व रहेको ढकालले बताए। धार्मिक मान्यताअनुसार यममार्गमा यात्रा गर्दा अन्धकारको सामना गर्न नपरोस् र दीपको ज्योतिले बाटो उज्यालो बनाओस् भन्ने उद्देश्यले दीपदान गर्ने परम्परा सुरु भएको हो।

उनले नरक चतुर्दशीको स्नान र दीपदानलाई आध्यात्मिक दृष्टिले पनि बुझ्नुपर्ने बताए। जसरी झिसमिसे अन्धकारमा दीपको ज्योतिले उज्यालो फैलाउँछ, त्यसरी नै मानिसको जीवनमा ज्ञानको ज्योतिले मार्गदर्शन गर्न Sसकोस् भन्ने सन्देश यस पर्वले दिने उनले बताए।

नरक चतुर्दशीका दिन चिसो मौसममा गङ्गा तथा तीर्थस्थलमा स्नान गर्ने, दीपदान गर्ने र तीर्थको पूजा—अर्चना गर्ने परम्परा रहेको उनले बताए। यद्यपि, व्यक्तिको अनुकूलताअनुसार धार्मिक विधि र पूजाआजा गर्न सकिने उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर