आज धन त्रयोदशी अर्थात् धनतेरस पर्व मनाइँदै
काठमाडौं । आज धन त्रयोदशी अर्थात् धनतेरस पर्व मनाइँदैछ। दीपावली अर्थात् तिहारको सुरुवातका रूपमा मनाइने धनतेरसका दिन विशेषगरी सुनचाँदी, भाँडाकुँडा तथा विभिन्न सामग्री खरिद गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार धनतेरसका दिन नयाँ सामग्री खरिद गरी घरमा भित्र्याउँदा सुख, समृद्धि र धनधान्य वृद्धि हुने विश्वास गरिन्छ। यस दिन खरिद गरिएका सामग्री राखेर लक्ष्मी पूजा गरेमा माता लक्ष्मी प्रसन्न भई घरमा धनसम्पत्ति र समृद्धिको बास हुने जनविश्वास छ।
धनतेरसका अवसरमा श्रद्धालुहरूले पवित्र मन र शुद्ध चित्तले पूजा अर्चना गर्ने तथा लक्ष्मी र गणेशको मूर्ति वा तस्बिर घरमा भित्र्याउने चलन छ। धार्मिक मान्यताअनुसार कमलको फूलमाथि विराजमान भएकी माता लक्ष्मीको मूर्ति स्थापना गर्नु शुभ मानिन्छ। आफ्नो आर्थिक क्षमताअनुसार माटोका मूर्ति वा तस्बिरसमेत खरिद गर्न सकिने विश्वास छ।
यस दिन विशेषगरी सुन, चाँदी, तामा, पित्तल तथा स्टिलका भाँडाकुँडा खरिद गर्ने प्रचलन छ। भाँडाकुँडा खरिद गर्दा सम्भव भएसम्म चाँदीको कुनै सामग्री पनि किन्नु शुभ मानिन्छ। धनतेरसमा खरिद गरिएका सामग्री घरको पूर्वोत्तर दिशा अर्थात् ईशान कोणमा राख्ने धार्मिक मान्यता छ।
त्यस्तै, धनतेरसका दिन कौडी, कमल गट्टा तथा सिङ्गो धनियाँ खरिद गरी घरमा भित्र्याउनु पनि शुभ मानिन्छ। यी सामग्रीलाई लक्ष्मी पूजामा समावेश गरी घरमा राख्दा धनधान्य वृद्धि हुने र मानसिक शान्ति प्राप्त हुने जनविश्वास रहेको छ।
धनतेरसलाई धन र समृद्धिकी देवी लक्ष्मी तथा धनका देवता कुबेरको विशेष आराधना गर्ने दिनका रूपमा पनि लिइन्छ। यस दिनबाट दीपावलीको धार्मिक उत्सव सुरु हुने भएकाले घरको सरसफाइ, पूजाआजा र नयाँ सामग्री खरिदमा विशेष ध्यान दिने गरिन्छ।
