दोस्रो पटक लुम्बिनी र सुदूरपश्चिम आमनेसामने

काठमाडौं । लगातार दुई वर्ष नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पराजित भएर च्याम्पियन बन्नबाट वञ्चित सुदूरपश्चिम रोयल्ससमक्ष शनिबार हुने फाइनलमा उपाधि रक्षा अभियानमा रहेको लुम्बिनी लायन्सलाई हराए तेस्रो संस्करणको विजेता बन्ने योजनामा छ ।

दुई टिमबिचको पछिल्ला तीन भिडन्त हेर्ने हो भने सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी लायन्स निकै भारी साबित भएको छ । हेड टु हेडमा लुम्बिनी लायन्सले तीन तथा सुदूरपश्चिमले दुई खेल जितेका छन् । पछिल्ला तीन खेलमा लुम्बिनी सुदूरपश्चिमविरुद्ध अपराजित छ । पछिल्ला तीन भिडन्तमा लुम्बिनीले सुदूरपश्चिमलाई एकपक्षीय खेलमा हराएको छ ।

गत संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई लुम्बिनी लायन्सभन्दा बढी भाउ दिइएको थियो । अहिले लुम्बिनीलाई फाइनल जित्ने दाबेदारका रूपमा लिइएको छ ।

लुम्बिनी लायन्सले शीर्ष स्थानसहित समूह चरण सकाएको हो । लुम्बिनीले सात खेलमा पाँच जित, एक बराबरी र एक हारसहित सर्वाधिक ११ अङ्क बनायो । यस संस्करणको पहिलो खेलमै लुम्बिनीले सुदूरपश्चिलाई नै सात विकेटले हराएको थियो, त्यो पनि ६१ बल बाँकी छँदै  सुदूरपश्चिमलाई ८७ रनमै अल आउट गरेपछि लुम्बिनीले नौ ओभरमै जित हासिल गरेको थियो । जुन गत संस्करणकै फाइनलको पुनरावृत्ति बनेको थियो । गत वर्ष लुम्बिनीले च्याम्पियन बन्न सुदूरपश्चिलाई ८५ रनमा सीमित पारेपछि ६६ बल बाँकी छँदै खेल सकाएको थियो । यस संस्करणको पहिलो क्वालिफायर पनि सुदूरपश्चिमले लुम्बिनीसामु घुँडा टेक्यो । फेरि पहिले ब्याटिङ गरेको सुदूरपश्चिले यस पटक पनि १०५ रनको सामान्य स्कोर तयार पारेको थियो । लुम्बिनीले पुनः २० बल बाँकी छँदै छ विकेटले फराकिलो जित प्राप्त गरेको थियो ।

त्यसैले दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्धको फाइनल कुन मानसिकतामा खेल्छ, त्यो शनिबार नै पत्ता लाग्ने छ तर लुम्बिनी लायन्सलाई यस पटक उपाधि रक्षा अभियानबाट रोक्न सक्छ भने त्यो टिम सुदूरपश्चिम रोयल्स नै हो भन्दा पनि फरक पर्दैन । किनभने यी दुई टिम नै यस पटक यस प्रतियोगिताका सर्वश्रेष्ठ टिम हुन् । लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सविरुद्धको हारले मात्र सुदूरपश्चिमले यस पटक समूह चरणको शीर्ष स्थान बनाउन सकेन । पछिल्ला दुई संस्करणमा सुदूरपश्चिमले शीर्ष स्थानमा रहेर समूह चरण मात्र टुङ्ग्याएन क्वालिफायर वन जितेर सिधै फाइनल खेलेको थियो । यसपालि सुदूरपश्चिम रोयल्स १० अङ्कसहित दोस्रो स्थानमा रह्यो । त्यसैले त्रिविस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा फाइनल खेल्ने यी दुई टिमबिच यस पटकको उपाधि भिडन्त यात्रा खासै फरक देखिँदैछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर