पराजय व्यहोर्दैमा निरुत्साही नहुन विद्या भण्डारीको आग्रह

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निरुत्साही नहुन पार्टी कार्यकतालाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय भेलाको दोस्रो दिन बिहीवार सम्बोधन गर्दै उहाँले एउटा निर्वाचन हार्दैमा हत्तोत्साही हुनु पर्ने अवस्था नरहेको बताउनुभएको हो । गत वर्ष भदौ २३ र २४ गतेका घटनाक्रम तथा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको परिणामले नेता तथा कार्यकर्तामा निराशा उत्पन्न गरेको हुन सक्ने बताउनुभयो । तर विगतका संघर्षबाट प्रेरणा लिएर वर्तमान चुनौतीको सामना गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले पार्टीको विगतको संघर्ष स्मरण गर्दै पञ्चायती व्यवस्थाको दमन, विश्व कम्युनिस्ट आन्दोलनले बेहोरेको संकट तथा मदन–आश्रितको रहस्यमय हत्यापछिको कठिन परिस्थितिमा समेत एमालेले आफ्नो राजनीतिक यात्रा जारी राखेको उल्लेख गर्नुभयो । उहाले आगामी चुनौतीलाई समाना गर्न संगठनलाई सुदृढ, एकताबद्ध र गतिशील बनाउनुपर्ने बताउनुभयो ।

नेता तथा कार्यकर्ताबीच जिम्मेवारीको व्यावहारिक कार्यविभाजन, योगदान र क्षमताको उचित मूल्याङ्कन तथा पार्टीका सबै तहबीच साझा उद्देश्य निर्माण गर्न आवश्यक रहेको उहाँको भनाई छ । हालको निर्वाचन परिणाम अस्थायी धक्का रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा सही कार्यदिशा र दृढ प्रतिवद्धताका साथ जनताको विश्वास जित्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हालै सम्पन्न निर्वाचनमा व्यहोर्नु परेको गम्भीर धक्काको सम्बन्धमा पार्टीले व्यापक छलफल र समीक्षा समेत गरिसकेको छ । समीक्षाबाट निकालिएका निष्कर्षहरूलाई नेतृत्वदेखि कार्यकर्तासम्म सबै तहमा इमान्दारीपूर्वक व्यवहारमा कार्यान्वयन गरिनुपर्दछ । नेता तथा कार्यकर्ताबीच जिम्मेवारीको उचित र व्यावहारिक कार्यविभाजन गर्ने, कार्यकर्ताको योगदान र क्षमताको यथोचित मूल्याङ्कन गर्ने तथा पार्टीका सबै तहलाई साझा उद्देश्य र एउटै लयमा अघि बढाउने वातावरण निर्माण गर्नुपर्दछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा विकसित भइरहेका चुनौतीहरूलाई सामना गर्न पार्टीलाई थप सुदृढ, एकतावद्ध र गतिशील बनाउनुपर्ने आवश्यकता रहेको छ । हाम्रो पार्टीले विगतमा अनेकौँ चुनौतीहरूको सामना गर्दै आएको छ । निरंकुश निर्दलीय पञ्चायती व्यवस्थाले लादेको दमन, धरपकड र यातनाले पार्टीका नेता तथा कार्यकर्तालाई विचलित तुल्याउन सकेन । सन् १९९० को दशकमा विश्व कम्युनिस्ट आन्दोलनले गम्भीर धक्का व्यहोरेको अवस्थामा पनि हामीले पलायनताको बाटो रोजेनौँ । बरु आन्दोलनलाई थप लोकप्रिय, सशक्त र व्यापक बनाउँदै अगाडि बढ्यौँ । हाम्रा महान् नेताहरू मदन–आश्रितको रहस्यमय हत्याबाट सिङ्गो राष्ट्र शोकाकुल बनेको कठिन घडीलाई पनि हामीले शक्तिमा रूपान्तरण गर्यौँ । त्यसपछि पार्टीलाई अझ मजबुत, एकतावद्ध र विस्तारित बनाउन विस्तृत, विस्तारित बनाउन हामी सफल भयौँ । गत वर्ष भदौ २३ र २४ गते मुलुकमा घटेका घटनाक्रम तथा गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्काले नेता तथा कार्यकर्तामा केही निराशा उत्पन्न गरेको हुन सक्दछ । तर यस सन्दर्भमा म के कुरा स्मरण गराउन चाहन्छु भने अनेकौँ हन्डर, ठक्कर र धक्कासँगै हामीले आन्दोलनलाई जोगाएर मात्र राखेनौँ, यसलाई नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रूपमा स्थापित गर्‍यौं, साथै लोकतान्त्रिक आन्दोलनको निर्णायक हिस्साका रूपमा पार्टीलाई विकास गर्न सफल भयौँ, यो हाम्रो गौरवशाली इतिहास हो । त्यसैले अहिलेको परिस्थितिबाट हतोत्साहित हुनुपर्ने कुनै कारण छैन । विगतका सङ्घर्ष र सफलताबाट प्रेरणा लिँदै वर्तमानका चुनौतीको सामना गर्न हामीले अझ बढी सक्रियता, पहलकदमी र आत्मविश्वासका साथ अगाडि बढ्नुपर्दछ । यिनै आधारमा आन्दोलनलाई थप सुदृढ, एकतावद्ध र गतिशील बनाउन सकिन्छ । फेरि पनि म आफ्नो भावना मात्र होइन, सङ्कल्प दोहोर्‍याउन चाहन्छु कि एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन । तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरू सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो । यस दिशामा पार्टी अगाडि बढिरहेको छ । अहिले हामीले भोगेको धक्का अस्थायी हो । सही कार्यदिशा र दृढ प्रतिवद्धताका साथ अघि बढ्ने हाम्रो पार्टीको भविष्य जनताको विश्वास र समर्थनसँग जोडिएको छ ।’

उहाँले कार्यकर्तालाई निराश नभई सक्रिय र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो । राजनितिमा थकाई र विश्राम भन्ने नहुने उहाँको भनाई छ । उहाँले आफू कुनै पदप्राप्तीको लागी राजनीतिमा सक्रिय नभएको पनि बताउनुभयो । कम्युनिष्ट आन्दोलन र नेकपा एमालेलाई बलियो शक्तिका रुपमा विकास गर्न आफू सक्रिय राजनितिमा फर्किएको उहाँको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर