सरकार सही ढंगले सञ्चालन नभएको गगनको भनाइ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालन गर्ने जिम्मेवारी पाए पनि सरकार सही ढंगले सञ्चालन नभए देशले दुःख पाउने बताएका छन् ।
छठ पर्व मनाउन सर्लाही पुगेका सभापति थापाले कांग्रेसले प्रतिपक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने बताए । उनले सरकार सञ्चालनमा कमजोरी देखिए कांग्रेसको पनि विशेष जिम्मेवारी हुने उल्लेख गरे ।
उनले भने, ‘नेपाली कांग्रेसको राष्ट्रिय जिम्मेवारी छ । अघिल्लो निर्वाचनबाट नागरिकले हामीलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएपछि हामीले त्यही जिम्मेवारी निर्वाह गर्ने हो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाउने जिम्मेवारी पाएको छ । उहाँहरूले सरकार चलाउने हो । तर सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ । ढंगले नचलिरहेको बेलामा हाम्रो पनि विशेष जिम्मेवारी छ ।’
थापाले कांग्रेसलाई घेराबन्दी र षड्यन्त्रले कमजोर बनाउन नसक्ने दाबी गरे । यस्ता चुनौती विगतमा पनि सामना गरेको भन्दै उनले त्यसलाई चिरेर अघि बढ्ने बताए । उनले भने, ‘तपाईंले बाहिर सुन्नुहुन्छ, घेराबन्दी हुन्छ, षड्यन्त्र हुन्छ । हामी ती सबैलाई चिरेर गइहाल्छौँ, कुनै ठूलो कुरा छैन । त्यो आउँछ, जान्छ । त्यसको तागत राख्छौँ हामी । धेरै पटक आए, गए । हामी चिरेर जान्छौँ, त्यो ठूलो कुरा छैन ।’
