इतिहासबारे नयाँ पुस्तालाई जानकारी गराउनुपर्नेमा बिजुक्छेको जोड
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नयाँ पुस्तालाई इतिहास, अग्रजहरूले गरेका सङ्घर्ष र योगदानबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
नेपाल कर्मचारी समाज इञ्जिनियरिङ कलेज एकाइ समितिको आयोजनामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय समसामयिक राजनीतिक विषयमा हिजो शुक्रबार यहाँ आयोजना गरेको प्रवचन कार्यक्रममा अध्यक्ष बिजुक्छेले भक्तपुरको विकासलाई बुझ्न भक्तपुरको विगतबारे जानकारी लिन आवश्यक रहेको बताए । भक्तपुरमा किसानको बाहुल्यता रहेकाले यहाँको विकास प्रक्रिया केही ढिलो भए पनि उल्लेखनीय प्रगति भएको उनले बताए ।
भक्तपुरका जनता राजनीतिक रूपमा सचेत रहेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेले अहिलेको पुस्ताले विगतका सङ्घर्ष प्रत्यक्ष रूपमा नदेखेकाले समाज रूपान्तरणका लागि अग्रज पुस्ताले गरेका विभिन्न आन्दोलन र सङ्घर्षका गतिविधिबारे नयाँ पुस्तालाई जानकारी गराउनुपर्नेमा जोड दिए । विगतका सङ्घर्ष, अनुभव र योगदानलाई स्मरण गर्दै त्यसबाट नयाँ पुस्ताले सिक्नुपर्ने उनको भनाइ थियो ।
