मकवानपुरमा सुमो दुर्घटना : तीन जनाको मृत्यु,
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित राप्ती खोलामा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबैको पहिचान खुलेको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो । दुर्घटनामा घाइते भएका १० जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यस्तै, सोही स्थानका अन्दाजी २२ वर्षीया जेशिका भनिने अस्मिता तिमल्सिना र २५ वर्षीया अनुषा लामाको पनि दुर्घटनामा मृत्यु भएको छ ।दुर्घटनामा सुमो चालक चन्द्रनिगाहपुर नगरपालिका–४ का ३३ वर्षीय कालुमान लोप्चनसहित सात जना घाइते भएका छन् ।
घाइते हुनेमा चन्द्रनिगाहपुर नगरपालिका–३ का १६ वर्षीय निमा थिङ, ५८ वर्षीय कान्छा धोज, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया शिखा लामा र ५५ वर्षीया हरिमाया थिङ रहेका छन् । त्यस्तै, वडा नम्बर ४ का १९ वर्षीय वय हाङ रानामगर पनि घाइते भएका छन् । घाइतेमध्ये केहीको काँध, हात, करङ, ढाड तथा टाउकोमा चोट लागेको छ । प्रारम्भिक विवरणअनुसार सबै घाइतेको अवस्था सामान्य रहेको छ ।
