प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई भारत सरकारले उच्च महत्त्व प्रदान
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई भारत सरकारले उच्च महत्त्व दिएको प्रस्ट पारेको छ । प्रधानमन्त्री शाहलाई भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले उहाँको भ्रमणको भइरहेको तयारी र भ्रमणका लागि अग्रिम शुभकामना सन्देश पठाउँदै भ्रमण अर्थपूर्ण बनाउन उच्च महत्त्वका साथ भारत सरकारले तयारी गरिरहेको जानकारी गराउनुभएको हो ।
नेपाल भ्रमणमा आउनुभएका भारतका विदेश सचिव विक्रम मिश्रीमार्फत प्रधानमन्त्री मोदीले उक्त सन्देश पठाउनुभएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार प्रधानमन्त्री शाहसँग विदेश सचिव मिश्रीले गर्नुभएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीको सन्देश प्रधानमन्त्री शाहलाई सुनाउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
उहाँले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल र फलदायी बनाउन भारत सरकारका तर्फबाट उच्च गृहकार्य भइरहेको प्रस्ट्याउनुभयो । प्रधानमन्त्री शाहले नेपालमा गत भदौ १० गते गएको विनाशकारी भोटेकोशी–त्रिशूली हिमबाढीपछि निम्तिएको विपत्मा भारत सरकारले सहयोगका लागि हात बढाउँदै पहिलो साथ एवं सहयोगसहित नेपालप्रति जनाएको ऐक्यबद्धताको सराहना गर्नुभयो ।
निकटको छिमेकीको नाताले तत्काल प्रतिक्रिया र सहयोग व्यक्त गरेको उक्त कार्यको प्रधानमन्त्री शाहले प्रशंसा गर्नुभयो । त्यसबेला राहत सामग्रीका साथै उद्धार टोली खटाएर भारतले गरेको सहयोगप्रति प्रधानमन्त्री शाहले आभार व्यक्त गर्नुभयो । त्यस्तै भारतका प्रधानमन्त्री मोदीले नेपालले विपत्को सामना गरिरहेका बेला फोनमार्फत सहयोगको ऐक्यबद्धता जनाउनुभएको स्मरण गर्दै प्रधानमन्त्री शाहले आभार प्रकट गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहलाई दिनुभयो । बिहीबार नै उक्त मार्गमा रेलको परीक्षण सञ्चालन भएको पनि प्रधानमन्त्री शाहलाई जानकारी दिनुभएको प्रधानमन्त्री कार्यालयले प्रस्ट पारेको छ । आसन्न भारत भ्रमणको तयारीका विषयमा प्रधानमन्त्री शाहले विदेश सचिव मिश्रीसँग थप बिफ्रिङ लिनुभएको थियो ।
त्यसै गरी नेपाल–भारतबिच सहकार्यमा रहेका साझा मुद्दाका बारेमा भारत सरकारको मतका विषयमा विदेश सचिवमार्फत प्रधानमन्त्री शाहले चासो व्यक्त गर्नुभयो । नेपालमा भारत सरकारको सहयोगमा सञ्चालित परियोजनाहरू, विभिन्न क्षेत्रमा भएका भारतको लगानी तथा द्विपक्षीय सहकार्यका क्षेत्रमा भएको प्रगतिका बारेमा पनि प्रधानमन्त्री शाहले सङ्क्षिप्त जानकारी लिनुभयो ।
विदेश सचिव मिश्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको प्रधानमन्त्री शाहलाई अवगत गराउनुभएको थियो । भ्रमणका क्रममा हुने सम्भावित अन्य योजनाका बारेमा पनि उहाँहरूबिच धारणा आदानप्रदान भएको जनाइएको छ ।
काठमाडौँस्थित भारतको दूतावासले विदेश सचिव मिश्रीले शिष्टाचार भेटमा प्रधानमन्त्री मोदीको तर्फबाट आसन्न भ्रमणका लागि शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको प्रस्ट्याएको छ । भेटमा विभिन्न द्विपक्षीय पहलको कार्यान्वयन तथा विशेष गरी आगामी महिना हुने प्रधानमन्त्री शाहको उच्चस्तरीय भ्रमणको सन्दर्भमा नेपाल–भारत सहयोगलाई विभिन्न क्षेत्रमा अझ सुदृढ पार्ने सम्भावनाबारे छलफल भएको दूतावासले जनाएको छ ।
प्रधानमन्त्री शाह आउँदो मङ्सिर दोस्रो साता औपचारिक भ्रमणमा भारत जानुहुने भएको छ । नयाँ सरकार बनेपछि भारतका प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहको छिमेकी मुलुकमा हुन लागेको यो पहिलो भ्रमण हो । भ्रमणको औपचारिक मिति छिट्टै घोषणा हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिनुभयो । यसअघि सरकारका तर्फबाट पहिलो औपचारिक भ्रमणका रूपमा प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जानुभएको थियो ।
यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारतका विदेश सचिव मिश्रीले बिहीबार भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा नेपाल भारतबिच बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ । यसअघि विदेश सचिव मिश्रीले बुधबार अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलगायतसँग शिष्टाचार भेट गर्नुभएको थियो । विदेश सचिव मिश्री बिहीबारै स्वदेश फर्कनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
